१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

शेयर बजार विस्तारमा सहयोग गर्ने प्रतिबद्धता

१६ भदाै, जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा शेयर बजार विस्तारमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली पूँजीबजार लगानीकर्ता सङ्घ प्रदेश २ समितिले आज जनकपुरमा आयोजना गरेको पूँजी बजारको अवसर र चुनौती विषयक अन्तक्र्रियामा मुख्यमन्त्री राउतले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ लगानीको लागि उर्बरभूमि भएको बताउँदै देश कै ठूलठूला उद्योगी व्यवसायी यस प्रदेश रहेको बताउनुभयो । उहाँले यस्तो अवस्था भए पनि यस प्रदेशमा गरीबी व्यापक रहेकोमा दुःख व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले अहिले शेयर बजारमा लगानी केही निश्चित वर्गको मात्र रहेकाले यसबारे शिक्षा सबैमा पु¥याउनुपर्ने आवश्यक्ता रहेको औँल्याउनुभयो । जानकारीको आभावले यस भेगका लगानीकर्ताको पहुँच शेयर बजारमा हुन नसकेको बताउनु हुँदै उहाँले शेयर बजारबारेको शिक्षा गाउँगाउँसम्म पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री राउतले बैंकिङ (वित्तीय) ज्ञानको अभावमा ग्रामीण क्षेत्रका सोझा साझा जनता अहिले पनि साहुसँग महँगो ब्याजमा ऋण लिन बाध्य रहेकाले वित्तीय साक्षरताको लागि गाउँगाउँमा कक्षा सञ्चालन गर्नुपर्ने सोच प्रदेश सरकारको सोच रहेको जानकारी दिनुभयो ।

शेयर लगानीकर्ताले जनकपुरमा ब्रोकर अफिसको लागि पहल गरी दिन गरेको आग्रहमा उहाँले प्रदेश सरकार लगानीकर्तालाई सहयोग गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री राउतले शेयर बजारको लगानीले लगानीकर्ताको मात्र नभई प्रदेशकै आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : September 1, 2018 at 5:09 am