१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

एकै परिवारका ६ जनाको हत्या प्रकरण : ४ जनालाई आजीवन कैदकाे फैसला


२१ असार, संखुवासभा । जिल्ला अदालत संखुवासभाले मादी हत्या काण्डमा संलग्न ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । मादी नगरपालिका-१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा संलग्न ५ जनामध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो । हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला सुनाएको छ ।

सोमबार जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले ५ जनालाई कसुरदार ठहर गर्दै उक्त फैसला गरेको हाे । अदालतले मृतक परिवारको राहत कोषमा ४ जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति रकम जम्मा गर्नुपर्ने आदेश दिएकाे छ ।

हत्या अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै आफन्तहरू हुन् । २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १५:०५