सिटिजन्स बैंकमा धरौटी राखेको साढे ७ किलो सुन गायब, बैँकका कर्मचारी सहित पाँच पक्राउ
१३ भदाै, काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको न्यूरोड शाखामा धरौटी राखेको साढे ७ किलो सुन गायब भएकाे छ । सुन गायव बनाएकाे अाराेपमा प्रहरीले बैँकका कर्मचारी सहित पाँच जनालार्इ पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले सुन धरौटी राखेर श्रृण लिएका श्रृणी र बैंकका कर्मचारीलाई पक्राउ गरेको हो। अनुसन्धानमा सुन धरौटी राखेभन्दा बढी तौल बताएर श्रृण प्रवाहका लागि सिफरीश गर्ने बैंकका वरिष्ठ र कनिष्ठ सुन जाँचकीको संलग्नता खुलेको हो।
उनीहरुले बैंकमा राखेको सुन समेत जानकारी र अनुमति बिना बैंकबाट झिकेर अपचलन गरेको समेत खुलेको हो । ब्युरोका एसपी सानुराम भट्टराईका अनुसार जम्मा सात किलो चारसय ९७ ग्राम सुन अपुग भएपछि बैंकले अनुसन्धानका लागि आग्रह गरेको हो।‘हामीले प्रारम्भीक अनुसन्धानमा संलग्न केहीलाई पक्राउ गरेका हौं। मुख्य अभियुक्तको खोजी भइरहेको छ,’ एसपी भट्टराईले भने।
उनका अनुसार पक्राउ परेका पाँचैजना बिरुद्ध २ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबर बैकिंग कारोबारमा हानी नोक्सानी पुर्याएको मुद्दामा अनुसन्धान भइरहेको हो । ब्युरोले मंगलबार काठमाडौंका विभिन्न स्थानबाट बैंकका वरिष्ठ सुन जाँचकी सामिन शाक्य र सहायक सुन जाँचकी विन्देश शाक्यलाई पक्रेको हो। यस्तै प्राइम कमर्सियल बैंक कमलपोखरी शाखाका अमितराज बज्राचार्य र श्रृणीहरु लभ बराइली तथा उमेशराज बराइलीलाई पक्राउ गरेको हो। पाँचैजना बिरुद्ध उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १८:५९