१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गाविस अध्यक्ष भएको २५ वर्षपछि वडा अध्यक्षमा विजयी, जनताको कामको प्रभावकारी समन्वय गर्ने संकल्प

५ जेठ, झापा । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्ष भएको २५ वर्षपछि दुर्गामणी बस्नेत गौरादह नगरपालिका ४ को वडाध्यक्षमा विजयी भएका छन । बस्नेत २०५४ सालमा नेकपा एमालेका तर्फबाट संखुवासभाको आँखीभुइृं गाविसको अध्यक्ष निर्वाचित भएका थिए ।  बस्नेत अहिले गौरादह नगरपालिका ४ बाट प्यानल सहित वडाध्यक्षमा विजयी भएका हुन ।

गाविस अध्यक्षको कार्यकाल सकिएपछि झापा बसाईं सरेका बस्नेत एमालेको स्थानीय राजनीतिमा सक्रिय छन । उनले पूर्वमन्त्री युवराज कार्कीको सचिवालयलमा बसेर पनि काम गरेका थिए । एमालेको किल्लाको रुपमा चिनिएको तत्कालिन महारानीझोडाको धरधरे, डोरामारी, मझुवा वडा नं ४ मा पर्दछन् ।

पूर्वमन्त्री, साँसदहरु पालिका अध्यक्षमा प्रतिष्पर्धा गर्न आइरहेको अवस्थामा आफूलाई यो जिम्मेवारी कुनै नौलो नभएको बस्नेतले बताए । उनले भने हिजोका स्थानीय निकायसँग आजका स्थानीय तहलाई तुलना गर्न मिल्दैन । हिजोको निकाय समन्वयकारी थियो ।

आजको स्थानीय तह स्वायत्त छन् । संविधानले वडाहरुलाई पनि सरकारको मान्यता दिएको छ । त्यसैले वडातहबाट पनि जनताका कामलाई सहज र प्रभावकारी ढंगले गर्न सक्छु भन्ने लागेको छ । गाविस अध्यक्ष हुँदाको अनुभव वडाको विकास र समृद्धिमा प्रयोग गर्छु ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०६:४१