२३ पुष २०८१, मंगलवार | Wed Jan 8 2025

रसुवामा बदर मत एक प्रतिशत मात्रै

४ जेठ, रसुवा । स्थानीय तहको निर्वाचनमा रसुवामा मत बदर न्यून देखिएकाे छ । ०७४ सालमा भएको निर्वाचनको तुलनामा यसपटक निकै कम मत बदर भएको हो । ०७४ सालका निर्वाचनमा २२ हजार ६ सय ८९ मत खसेकोमा एक हजार ६ सय २८ मत बदर भएको थियो । यो सात दशमलब ०५ प्रतिशत हो । तर, यसपटक ३० हजार चार मत खसेकोमा तीन सय १० मत मात्रै पूर्ण बदर भएको छ । यो एक दशमलब ०३ प्रतिशत हो ।

नतिजाअनुसार आमाछोदिङ्मो गाउँपालिकामा ३२, उत्तरगयामा ३७, कालिकामा ३९, गोसाइँकुण्डमा १३ र नौकुण्डमा एक सय ८९ मत बदर भएको छ। यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभए पनि बदर मत संख्या कम देखिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

जिल्लाको आमाछोदिङमोमा पाँच हजार ६० मतदातामध्ये चार हजार दुई सय १४, उत्तरगयामा आठ हजार चार सय दुईमध्ये ६ हजार पाँच सय १६, कालिकामा आठ हजार ६ सय ५६ मध्ये ६ हजार सात सय ७३, गोसाइँकुण्डमा पाँच हजार आठ सय ९० मध्ये चार हजार सात सय ७३ र नौकुण्डमा १० हजार पाँच सय ३७ मध्ये सात हजार सात सय २६ ले मतदान गरेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १५:१९