१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

कर वृद्धिकाे महत्वबारे नागरिकलाई बुझाउन आवश्यक

८ भदौ,नेपालगञ्ज । बाँकेका स्थानीय तहले केही व्यवसायमा व्यवस्था गरेको करको दरबारे  टिप्पणी गरिँदै आएको छ । नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धारणा उत्पन्न भएको बताउनुहुन्छ । “कर वृद्धि गर्नु नराम्रो होइन । तर कति वृद्धि गर्ने, कुनकुन शीर्षकमा वृद्धि गर्नेलगायत कुराको अध्ययन गर्नुपर्छ,” उहाँले भन्नुभयो । स्थानीय तहले आफूले गर्न लागेको कामको जानकारी पहिले नै नागरिकलाई गराउनुपर्ने उहाँको भनाइ छ ।

स्थानीय निकायले व्यवसाय, घर बहाल, मनोरञ्जन, घरजग्गा, सवारीसाधन, विज्ञापन लगायतमा कर वृद्धि गरेको छ । “नागरिकले कर अनिवार्य तिर्नुपर्छ, कर बढाउनेबारे नागरिकलाई बुझाउनु पर्छ”, नेपालगञ्जका व्यापारी रामलखन गुप्ताले भन्नुभयो । विकास निर्माणका काममा करबाट सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । स्थानीय तहले करबारे आश्वस्त गर्न नसक्दा त्यसप्रति नकारात्मक धारणा बढेको हो ।

स्थानीय तहले बढाउँदै नबढाएको करबारे हल्ला गर्नेको सङ्ख्या पनि उत्तिक्कै छ । नेपालगञ्ज उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख भूपति खत्री मदिरा तथा सुर्तीजन्य वस्तुमा कर बढाएको बताउनुहुन्छ । प्रदूषण गर्ने इँट्टाभट्ट तथा तारे होटललाईसमेत कर बढाएको उहाँले बताउनुभयो । विगतमा वार्षिक रु १५ हजार कर लिँदै आएको इँट्टाभट्टामा रु २० हजार, चुरोटको डिलरलाई रु १० हजारबाट रु १२ हजार, पान पसललाई रु एक हजारबाट रु दुई हजार ५०० तथा मदिरा बेच्ने पसललाई रु एक हजार ५०० बाट रु दुई हजार ५०० कर बढाइएको छ ।

यसैगरी, तारे होटलमा विगतको भन्दा १० प्रतिशत कर वृद्धि गरिएको छ । विदेश पढ्न जाने विद्यार्थीसँग लिने कर रु १५ हजारबाट रु पाँच हजार घटाइएको छ । जिल्लाका ८ स्थानीय तहले बिलासिताका वस्तुमा कर बढाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ, “बढाउँदै नबढाएको करबारे विस्तारै नागरिकले थाहा पाउनेछन् ।”

प्रकाशित मिति : August 24, 2018 at 3:24 pm