पाल्पा पनि एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित
१३ वैशाख, पाल्पा। पाल्पामा नेकपा एमालेबाट दुई जना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुवै महिला निर्विरोध निर्वाचित भएका हुन ।
पूर्वखोला गाउँपालिका–२ जाल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नम्बर ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएको पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिए । एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवैजनालाई उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेसनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार २३:४१