२० कार्तिक २०८१, मंगलवार | Tue Nov 5 2024

उदयपुरको गठबन्धनमा अबरोधः वडादेखि प्रमुखसम्म बागी उमेदवार

१३ वैशाख, उदयपुर । उदयपुरका ८ वटै स्थानीय तहमा सत्तासाझेदार विच बनेको गठबन्धन भत्किएको छ । ४ नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरमा गठबन्धन गर्ने सहमतिको निर्णय लत्याउँदै नेताहरुले वडादेखि प्रमुख पदसम्म वागि उमेदवारी दर्ता गराएका हुन् ।

पार्टीका निष्ठावान कार्यकर्तालाई पन्छाएको र नेतृत्वले आफुखुशी गोजीका मान्छेलाई टिकट दिएको भन्दै उनीहरुले असन्तुष्टि जनाई वागि उमेदवार दर्ता गराएका हुन् । उता नेकपा (एकिकृत समाजवादी)ले काँग्रेस र माओबादी केन्द्रले आफुहरुलाई समानजनक ठाउँ नदिएको भन्दै उमेदवारी दर्ता गराएको छ ।

कटारी नगरपालिकामा माओबादी केन्द्रबाट २०७४ मा मेयर पदमा उठेका पार्टीका प्रदेश कमिटी सदस्य केपी वरालले मेयर पदमा स्वतन्त्र उमेदवारी दिएका छन् । त्यसैगरी काँग्रेसका क्षेत्रनं २ अन्र्तगत प्रदेश ‘ख का सभापति कृष्ण थापाले उपमेयरमा स्वतन्त्र उमेदवारी दिएकाछन् ।

त्यस्तै नेकपा एसले माओबादी केन्द्रका जिल्ला अध्यक्षविरुद्ध उपमेयर पदमा वडासदस्य हृदय थिङ्ग तामाङ्गले उमेदवारी दर्ता गरेका छन् । सो पार्टीले मेयरमा वागि उमेदवार केपी बराललाई सघाउने भएको छ ।

कटारीमा नेकपा एमालेको पुरानै मेयर दोहोर्याएको छ । एमालेले मेयरमा पार्टीका जिल्ला उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ (काजी) र उपमेयरमा जिल्ला सदस्य गिता खड्कालाई उमेदवारी बनाएको छ ।

उता काँग्रेस वाहेक गठबन्धन गरेको चौदण्डिगढी नगरपालिकामा माओबादी केन्द्र र नेपाली काँग्रेसबाट वागि उमेदवार परेको छ । काँग्रेसबाट पार्टी निकट आदिबासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष बनिसकेका चर्चित युवा प्रशान्त राईले वागि उमेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी मेयर पदमा नेकपा एसको भागमा परेको चौदण्डिमा वडाध्यक्ष कमलध्वज राईले वागि उमेदवारी दर्ता गराएका छन् । उनी २०७४ का वडानं ६ को वडाध्यक्ष हुन् । गठबन्धनबाट यो नगरपालिकामा नेकपा एसको भागमा परेको छ । चौदण्डिगढीमा नेकपा एमालेको तर्फबाट मेयर पदमा जिल्ला सचिब कालुमान लामा र उपमेयरमा जिल्ला सचिवालय सदस्य मणिकादेवी दुलालले उमेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी ताप्लि गाउँपालिकामा गठबन्धन भित्र जनता समाजवादी पार्टी वाहेका दलहरुले चुनावी तालमेल गरेका छन् । अध्यक्षमा माओबादी केन्द्र र उपाध्यक्षमा काँग्रेसको भागमा परेको ताप्लिमा गठबन्धनविरुद्ध कांग्रेसकै महादेव रास्कोटीले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा एमालेबाट जिल्ला कमिटी सदस्य बाबुराम राई र उपाध्यक्षमा मनकुमारी थापाले उमेदवारी दर्ता गराएका छन् । सदरमुकामको त्रियुगा नगरपालिकामा गठबन्धन भित्र नेपाली काग्रेस वाहेका दलले चुनावी तालमेल गरेका छन् । मेयरमा नेकपा एस र उपमेयरमा माओबादी केन्द्रको भागमा परेको त्रियुगामा माओवादी केन्द्रकी त्रियुगा नेतृ सावित्रा थापाले उपमेयरमै बागी उम्मेदवारी दिएकी छिन् ।

नेकपा एमालेबाट मेयरमा प्रदेश कमिटी सदस्य भागवत राउत र उपमेयरमा जिल्ला कमिटी सचिवालय सदस्य महेश्वरी राईले उमेदवारी दिएका छन् । त्यसैगरी बेलका नगरपालिकामा मेयरमा नेकपा एमालेबाट २०७४ का मेयर तथा पार्टीका प्रदेश कमिटी सदस्य दुर्गाकुमार थापा (स्वस्ति) र उपमेयरमा जिरा राईले उमेदवारी दर्ता गराएका छन् ।

यसैगरी रौतामाई गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा २०७४ का उपाध्यक्ष कुमारी ज्यू ठकुरीले दर्ता गराएका छन् । एमाले विरुद्ध बनेको पाँच दलिय गठबन्धनमा पनि वागि उमेदवार परेको छ । माओबादी केन्द्रलाई अध्यक्ष र काँग्रेसलाई उपाध्यक्ष भाग परेको रौतामाईमा उपाध्यक्षमा कांग्रेसबाट कौशल राईले बागी उम्मेदवारी दिएका छन् ।

उदयपुरगढी गाउँपालिकामा एमालेबाट अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरले दर्ता गराएका छन् । एमालेविरुद्ध पाँच दलिय गठबन्धन बनेको उदयपुरगढीमा वडा तहमा गठबन्धनबाट वागि उमेदवार परेको छ ।

यस्तै लिम्चुङबुङ गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा राजकुमार राई र उपाध्यक्षमा देवकुमारी कार्कीले दर्ता गराएका छन् । एमालेविरुद्ध बनेको गठबन्धन भित्र पनि वागि उमेदवार उस्तै परेको छ । माओबादी केन्द्रले अध्यक्ष पाएकोमा सोही पार्टीबाट स्थानीय नेता होम किराँतीले अध्यक्षमै बागी उम्मेवारी दिएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १६:२४