१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

कमलामाईको उपमेयरमा माओवादीबाट उम्मेदवार बनेका श्रेष्ठको उम्मेदवारी नै अबैध

१३ वैशाख, सिन्धुली । कमलामाई नगरपालिकाका उपमेयरका उम्मेदवार दीर्घराज श्रेष्ठ सहित १० जनाको उम्मेदवारी दर्ता हुन सकेको छैन । मंगलबार दिनको १ः१० बजेको समयसम्म गठबन्धन बाट उपमेयर उम्मेदवार बनेका माओवादी केन्द्रका श्रेष्ठसहितको उम्मेदवारी दर्ता हुन नसकेको हो ।

श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा दर्ता प्रक्रियामा इन्ट्री हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार, श्रेष्ठको नाम समानुपातिक प्रणलीको बन्द सूचीमा रहेको हुँदा नाम दर्ता हुन नसकेको हो ।  कानुन अनुसार अब उनको उम्मेदवारी दर्ता हुन सम्भव छैन । तर सत्तारूढ पार्टीको गठबन्धनका उम्मेदवार भएकाले बन्दसूचीबाट नाम हटाउन लगाएर उम्मेदवारी दर्ता गराउने प्रयासमा गठबन्धनका नेताहरू लागेका छन ।

अन्य उम्मेदवारहरुको भने प्रस्तावकको विवरण नभिडेकाले दर्ता हुन नसकेको बताइएको छ । उपमेयर श्रेष्ठको नाम जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सूचीमा थियो ।

उनी भने केही हप्ताअघि मात्र जसपा परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए । अब जसपाले बन्द सूचीबाट उनको नाम हटाइदिए मात्र उपमेयर उम्मेदवार हुन पाउनेछन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १६:१२