१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

प्रचण्डको आकस्मिक पत्रकार सम्मेलनको अर्थ के ?


५ वैशाख, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साेमबार दिउँसो पत्रकार सम्मेलन गरे । त्यसका लागि उनी पाँचदलीय गठबन्धनको बैठक छोडेर पेरिसडाँडा पुगेका थिए ।स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटबारे निर्णय गर्न बसिरहेको गठबन्धनको बैठकलाई रोकेर पत्रकार सम्मेलन गर्न जाँदा कुनै ठूलै कुरा सार्वजनिक गर्न लागे जस्तो लाग्यो । उनको पत्रकार सम्मेलनमा सहभागी हुन अधिकांश पत्रकार पेरिसडाँडा पुगे । निर्धारित समयमै भन्दा केही समय ढिला गरी पत्रकार सम्मेलन सुरू भयो । प्रचण्डले आफ्नो भनाइ राख्न थाले ।

उनले आफ्नो भनाइ सकेपछि लाग्यो आखिर प्रचण्डले केका लागि पत्रकार सम्मेलन गरे ? गठबन्धनको बैठक नै छाडेर आएका उनले पत्रकारले सोधेको प्रश्नमा आवश्यक परेमा एक्लै चुनावमा लड्ने दाबी गरे । उनले भने, ‘यदि गठबन्धनभित्र सहमति सबैको बीचमा भएन भने ज-जसको बीचमा सहमति हुन्छ, त्यसको बीचमा सहमति गरेर जान्छौं । अब कसैसँग भएन भने एक्लै भिड्ने तयारी त हामीले तीन महिनादेखि गरेकैं छौं नि !’

सहमति नभएको खण्डमा एक्लै चुनाव लड्ने र माओवादी केन्द्रले नै जित्ने उनको दाबी थियो । सहमति भएन भने त्यत्तिकै बस्ने कुरा त भएन् । भिडेर जाने कुरा नै हुन्छ । त्यो स्थितिमा जित्ने सम्भावना अहिलेसम्म माओवादी केन्द्रकै बढी देख्छु । किनभने देश संकटमा परेको बेला बचाउने भनेको को रहेछ ? यो परिवर्तनप्रति गम्भीर र जिम्मेवार को रहेछ ? संकट मोचन कसले गर्दाे रहेछ देशको ? भन्ने कुरा जनताले बुझेको हुनाले यो पटक माओवादी केन्द्र एक्लै गयो भने पनि राम्रै हुन्छ ।

उनले तीन महिनादेखि चुनावको तयारी गर्दै आएका प्रष्ट पारे । यअसघि पनि उनले माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै आएका थिए । गठबन्धनको बैठकलाई रोकेर पत्रकार सम्मेलनमा एक्लै चुनाव लड्ने भन्नु घुर्की लगाउनुसरह हो ।

यसको अर्थ यदि भागबन्डामा आफूले चाहेअनुसार सिट भएन भने गठबन्धन टुट्न सक्छ । यस्तै उनले दिन खोजेको अर्को सन्देश हो, पाँचदलीय गठबन्धनबाहेक एमालेलगायतको गठबन्धन । उनले आफूहरू पवित्र गठबन्धन भएको र अन्य दलको अपवित्र गठबन्धन भएको दाबी गरे । आसन्न स्थानीय तह निर्वाचनमा दुईवटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने उनले बताए ।

सत्तारुढ पाँच दलको वाम-लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजामहाराजाहरूको गठबन्धन’ बीच प्रतिस्पर्धा हुने प्रचण्डले बताए । ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होलीवाइन, हिन्दुवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ’, प्रचण्डले भने ।

उनले उठान गरेको अर्को कुरा हो, महानगरको भागबन्डा । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले दाबी गर्दै आएको छ । उनकै छोरी रेणु दाहाल पुनः मेयर उठ्ने प्रवल सम्भावना छ । जसले गर्दा माओवादीको रोजाइ नै भरतपुर महानगरपालिका हो । तर, प्रचण्डले भरतपुर महानगरपालिको सट्टा काठमाडौं वा विराटनगर दिए पनि हुने बताए ।

यदि कथंकथाचित भरतपुरमा सहमति जुटेन भने काठमाडौं महानगरपालिका र विराटनगरपालिकामा माओवादी केन्द्रको दाबी छ भन्नु उनको सन्देश हो । आजको पत्रकार सम्मेलनमा उनले यसअघि सार्वजनिक भइरहेका विषयबाहेक कुनै नौलो विषय उठान गर्न सकेनन् । जसले गर्दा पत्रकार सम्मेलन गर्नुको तात्पर्य के हो ? भन्नेमा आशंका व्यक्त गरिएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १५:०९