१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

कालापानी र लिपुलेक फिर्ता लिन पाँचै वर्ष सरकारको नेतृत्व एमालेले गर्नुपर्छः गुरूङ


५ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बहुमतसहितको नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन ।

‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बहुमतसहितको नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्छ,’ उपमहासचिव गुरुङले भने, ‘अरु राजनीतिक दलहरु सिंहदरबारमा बसेर गठबन्धनको गफ गरिरहेका छन् । हामी चुनावी प्रचार अभियानमा गाउँगाउँमा पुगेका छौँ । हिजोको भन्दा अहिलेको एमाले शक्तिशाली छ । हामी स्थानीय र प्रदेश–संघको निर्वाचनमा ६० प्रतिशत बढी मत ल्याएर स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्छौ ।’

उनले गुमेको भ–ूभाग फिर्ता लिन र समृद्धिको सपना छ पूरा गर्न पनि नेकपा एमालेले पाँच वर्ष सरकारको नेतृत्व गर्नुपर्ने बताए । ‘अहिले सत्ता गठनबन्धन मुखमा पसेको छुचुन्द्रो जस्तो भएको छ, सिंहदरबारमा बसेर कुन पद कस्ले पाउने भन्ने झगडामा छन्,’ उनले भने, ‘हामी कहाँ–कहाँ उम्मेदवार उठाउने भन्ने तयारीमा जुटेका छौँ । एमालेको यो तयारी निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल सुखी नेपालीलाई सार्थक बनाउने हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको सपना पूरा गर्नका लागि हो ।’

गुरूङसँग कुरा गर्दै पत्रकार सुरज आचार्य ।

गुरूङले एमालेसँग मुलुकभरी नै अभूतपूर्व आकर्षण बढेको पनि दाबी गरे । ‘वामआन्दोलनप्रति निष्ठा भएका सबै पार्टीका मान्छे एमालेमा प्रवेश गरिरहेका छन्,’ उनले भने, ‘जतिसुकै गठबन्धन गरे पनि हामी ६० प्रतिशत कटाउछौँ । हिजो विभाजित एमाले चुनावमा गएको थियो, अहिले त्यस्तो अवस्था छैन, कमाण्डर एउटै छ । त्यसले ठूलो उर्जा प्राप्त भएको छ ।’

गुरूङले एकिकृत पार्टी भएका कारण अहिलेको परिस्थितिमा एमाले पहिलो भन्दा थप उचाई र उर्जाका साथ चुनावी मैदानमा जाँदै गरेको पनि उनले बताए । ‘एमाले विदेशीसँग घुँडा टेक्दैनन् भन्ने सन्देश पुगेको छ,’ उनले भने, ‘जनताको आशा र भरोसाको पार्टी एमाले बनेको छ ।’

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १०:२५