१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

पाँच महिना अघि नै केपी ओलीले शुभारम्भ गरेको नवयुग डट कम फेरि आरम्भ !


४ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) ले पार्टीको मुखपत्रको रूपमा रहेको मासिक प्रकाशन नवयुगलाई डिजिटल फर्ममा लगेको पाँच महिना भएको छ । तर एमालेको प्रचार विभागले आइतबार नवयुग डटकमको पहिलो पटक शुभारम्भ भएको झैँ प्रचार गरेको छ । एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजाल र प्रचार विभागका सदस्य गगन विष्टले आइतबारबाट मात्रै नवयुग सुरू भएको भावमा सामाजिक सञ्जालमा प्रचार गरेका छन ।

यो पनि पढ्नुहोस्

तीन वर्षपछि नेकपा(एमाले)काे राजनीतिक पत्रिका नवयुग पुनः प्रकाशन

एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा आयोजित पार्टीको दशौं महाधिवेशनको उद्घाटनसत्रमा मंसिर १० गते शुक्रबार लाखौँ कार्यकर्ता र शुभेच्छुकको बीचमा नारायणी नदी किनारबाट सो डिजिटल पत्रिकाको शुभारम्भ गरेका थिए । अध्यक्ष ओलीले ल्यापटपमा नवयुग डट कम क्लिक गरेर सोको शुभारम्भ गरेका थिए । तत्कालीन प्रचार विभागका प्रमुख योगेश भट्टराई र उपप्रमुख सूर्य थापालाई दायाँबायाँ राखेर ओलीले नवयुग डट कमको शुभारम्भ गरेका थिए ।  त्यसयता नवयुग डट कम नियमित नै अपडेट थियो ।

आइतबार प्रचार विभागका उपप्रमुख रिजाललले फेसबुकमा लेखेका छन ‘आजबाट नेकपा (एमाले), केन्द्रीय प्रचार विभागले सामयिक विषयमा सम्वादसहित फेसबुक लाइभ आरम्भ गरेको छ । साथै, पार्टीका आधिकारिक सूचना सम्प्रेषणका लागि www.nawayug.com सञ्चालनमा ल्याएको छ । अनलाइन संयोजनका लागि प्रचार विभागका सदस्य गगन विष्ट र फेसबुक लाइभ संयोजनका लागि विभागका सदस्य तथा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई विशेष धन्यवाद !’ पाँच महिना अघि नै सञ्चालनमा आएको नवयुग डट कम निरन्तर अपडेट समेत रहेको अवस्थामा आजैबाट मात्र सुरू गरेको जस्तो गरेर रिजालले के सन्देश दिन खोजेका हुन भन्दै एमाले निकटका पत्रकारहरूले चर्चा गरेका छन ।

त्यस्तै प्रचार विभागका सदस्य समेत रहेका नवयुगकाका सम्पादक गगन विष्टले समाजिक सञ्जालमा लेखेका छन, ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले www.nawayug.com अारम्भ गरेको छ । स्थानीय निर्वाचनका वारेमा पार्टीका गतिविधि, सूचना तथा जानकारी पठाई nawayug लाई थप प्रभावकारी बनाउन यहाँकाे अमूल्य सहयोग विना सम्भव हुन सक्दैन। जिल्ला तथा स्थानीय तहमा भएका विकास निर्माण लगाएतका उपलब्धि हाम्रो लागि महत्त्वपूर्ण विषय वस्तु हुनेछन् । त्यसैले अाअाफ्ना क्षेत्रमा भएका महत्त्वपूर्ण सूचना पठाएर सहयोग गर्नुहुनेछ । सूचना संप्रेषणमा तपाईले गरेको सहयोग हाम्रो लागि अमूल्य योगदानमा परिणत हुनेछ । यही अपेक्षा सहित सबेैमा हार्दिक अनुरोध गर्दछौ ।’

के हो नवयुग ? 

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो । अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो ।

तर, ०५६ देखि ‘नवयुग’ नेकपा (एमाले) केन्द्रीय कमिटीको ‘राजनीतिक पत्रिका’का रुपमा नियमित रहिआएको छ । कुनै समय बुटवल–पोखराबाट क्षेत्रीय संस्करणसमेत प्रकाशित गरिसकेको ‘नवयुग’को पदचिह्नमा पछि देशका ठूला दैनिक पत्रिकाहरू क्रमशः क्षेत्रीय संस्करणका रुपमा मोफसलतर्फ लागे ।

पार्टीको केन्द्रीय कमिटीले बेलाबेला जिम्मेवारी हेरफेर गरेअनुरुप ‘नवयुग’को मुख्य नेतृत्व परिवर्तन हुने गरेको विदितै छ । यसै क्रममा ०५६ बाट सुरुदेखि लामो अवधिसम्म कमरेड प्रदीप नेपाल, समय रघु पन्त, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली हुँदै हाल कमरेड योगेश भट्टराई प्रमुख र सूर्य थापा उपप्रमुख रहेको नेतृत्वमा प्रचार विभाग र ‘नवयुग’को प्रकाशन भइरहेको छ ।

‘नवयुग’को नियमितता र प्रगति भनेको पार्टीको प्रभावकारी परिचालन, सुदृढ एकता र अनुशासित वातावरणमा मात्रै सम्भव छ । यदि पार्टी कमिटीहरू सक्रिय र प्रभावकारी भएनन् भने ‘नवयुग’ नियमित हुन र प्रभावकारी हुन कदापि सक्दैन । पार्टीको केन्द्रीय कमिटीले पहिले ‘एक सदस्यः एक ‘नवयुग’ र पछि ‘एक परिवारः एक ‘नवयुग’ को अभियान सञ्चालन गर्ने निर्णयसँगै ‘नवयुग’को प्रकाशनलाई नियमितता दिने काम हुँदै आएको थिया ।, २०७५ जेठ ३ को पार्टी एकता पछि तीन वर्षसम्म नवयुगको प्रकाशन अलपत्र हुन पुग्यो । २०७७ फागुन २३ गते नेकपा (एमाले)को पुनःस्थापनास“गै चैत–वैशाख पुनः नवयुगको प्रकाशन हुनथाल्यो । यसको नियमिततालाई प्रिन्ट संस्करण र अनलाइन संस्करणका रुपमा अघि बढाउने योजना अनुसार नवयुगडटकम आरम्भ भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार २१:२८