१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

राजेन्द्र लोहनीले लखेटेर माओवादीमा पुगेका नुवाकोटका पाण्डे १५ वर्षपछि एमालेमै फर्किए


३ वैशाख, नुवाकोट । नेकपा एमालेका पूर्व सांसद एवं तत्कालीन नेता राजेन्द्र लोहनीका कारण नेकपा माओवादी केन्द्रमा पुगेका नेकपा एमालेका नेता पूर्व जनप्रतिनिधि गणेश पाण्डे १५ वर्षपछि आफ्नै राजनीतिक घरमा फर्किएका छन । राजेन्द्र लोहनी नै एमाले छाडेर नेकप एकीकृत समाजवादीमा लागेपछि पाण्डे एमालेमा फर्किएका हुन ।

तत्कालीन सुनखानी गाविसको वडा नम्बर ७ (हालको शिवपुरी गाउँपालिका) मा एमालेबाट वडा अध्यक्षमा विजयी भएका पाण्डे लोहनीहरूले गुटका नाममा कर्नरमा पारेपछि पार्टी नै छाडेर अर्को पार्टीमा पुगेका थिए । माओवादीको प्रदेश कमिटीको सदस्य भैसकेका पाण्डे शुक्रबारदेखि एमालेमै फर्किएका हुन ।

उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार विदुरमा भएको बृहद् जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा स्वागत गरे । पाण्डेले १५ वर्षपछि भएपनि मुलघरमा फर्किन पाउँदा खुशी लागेको बताए । सबै जनताको भावनाको प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिएका छन ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार २२:०६