१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

एमालेको उपत्यका विशेष प्रदेशले स्थानीय निर्वाचनका लागि संयोजक तोक्यो


३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले स्थानीय निर्वाचनका लागि काठमाडाैँ उपत्यकाका तीन जिल्लामा संयोजक तोकेको छ । शनिबार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गतका सबै सयन्त्र परिचालनको निर्णय पनि भएको छ ।

यो प्रदेश अन्तर्गत चारवटा विशेष जिल्ला कमिटी, सबै इलाका र शाखा कमिटी र ति कमिटी अन्तर्गत आबद्ध सबै सदस्यहरुलाई परिचालन गर्ने निर्णय गरेको प्रचार विभाका प्रमुख श्रीधर आचार्यले जानकारी दिए । आचार्यका अनसार निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकिएको छ । जस अनुसार काठमाडौंमा उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजन गर्नेछन ।

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत चारवटा विशेष जिल्ला कमिटी रहेका छन् । मजदूर विशेष जिल्ला कमिटी, पेशागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी रहेका छन् ।

उपत्यकामा रहेका विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु यी जिल्ला कमिटी र अन्तर्गत कमिटीहरुमा संगठित छन् । प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, विभिन्न निकाय तथा संघ संस्थामा कार्यरत कर्मचारीहरु, हजारौंको संख्यामा मजदूर, विद्यार्थी, युवा यिनै विशेष कमिटी अन्तर्गत संगठित छन् । चारवटा जिल्ला कमिटी अन्तर्गत हाल ३२ हजार भन्दा बढी पार्टी सदस्य छन् ।

शनिबारको वैठकमा एमालेको पोलिटव्यूरो सदस्य तथा कमिटीका इन्चार्ज सुजिता शाक्यले पार्टीलाई आसन्न स्थानीय निर्वाचनमा अत्यधिक बहुमतका साथ विजयी बनाउन सक्रियतापूर्वक आ–आफ्नो वसोवास रहेको स्थानीय तहमा खट्न सबैलाई निर्देशन दिइन । कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका कमिटीका सह इन्चार्ज बीना श्रेष्ठले स्थानीय निर्वाचनमा विजय प्राप्त गर्न सबै पार्टी सदस्यहरु आ–आफ्नो क्षेत्रमा संगठित र समन्वय गरी खट्नुपर्ने बताइन ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार २१:३८