१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

सिन्धुलीमा पनि कांग्रेसले माओवादीलाई लात हान्यो, एक्लै चुनाव लड्ने निर्णय (माइन्युटसहित)


३ वैशाख, काठमाडौँ । सिन्धुलीको सुनकोसी गाउँपालिकामा नेपाली कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगर्ने औपचारिक निर्णय गरेको छ । वैशाख ३ गते शनिबार कांग्रेसका ७ वडाका सभापतिहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

वडा नम्बर १ का सभापति रामकुमार श्रेष्ठ, २ का सभापति विज्जु मोक्तान, ३ का सभापति विशु सूर्यवंशी, ४ का अध्यक्ष हरिकुमार योञ्जनफ ५ का अध्यक्ष अर्जुन विक्रम थापा, ६ का अध्यक्ष होमप्रसाद तिमल्सिना र ७ नम्बरका अध्यक्ष उत्तमकुमार लामको संयुक्त बैठकले माओवादीसँग चुनावी तालमेल र गठबन्धन नगर्ने निर्णय गरेको छ ।

उनीहरूले कुनै पनि दलसँग गठबन्धन नगरी एकल उम्मेदवारी दिने निर्णय गरेका छन । उक्त निर्णयको जानकारी, क्षेत्र, जिल्ला र प्रदेश कमिटीमा गराएका छन । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रको प्रमुख र उपप्रमुख विजयी भएका थिए । ७ मध्ये तीन वडामा एमाले, दुइरदुइ वडामा नेपाली कांग्रेस र माओवादी विजयी भएका थिए ।

यस्तो थियो २०७४को परिस्थिति

सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपा बोहराले तीन हजार ४३३ मत प्राप्त गरी विजयी भएकी थिइन । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कपिल कोइरालाले तीन हजार २१२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दीर्घसिंह मोक्तानले तीन हजार ४५४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शान्ता कार्कीले तीन हजार २६८ मत प्राप्त गरेकी थिइन ।

यस्तै, सुनकोसी गाउँपालिकाका ७ वडामध्ये नेपाली कांग्रेसले दुईओटा वडा, एमालेले तीनओटा वडा र माओवादी केन्द्र दुई वडामा विजयी भएका थिए । वडा नम्बर–१ मा कांग्रेसका विमलमान मोक्तान, वडा नम्बर–३ मा पनि कांग्रेसकै रामचन्द्र आचार्यको प्यानल विजयी भएको छ भने वडा नम्बर–२ मा एमालेका भोजकुमार सिंजाली, वडा नम्बर–४ मा एमालेकै शंकर जर्गामगर र वडा नम्बर–६ मा पनि एमालेकै लक्ष्मीप्रसाद तिमल्सिनाको प्यानल नै विजयी भएको थियो ।त्यस्तै, वडा नम्बर–५ मा माओवादी केन्द्रका सन्तोष ढकाल, वडा नम्बर–७ मा सोही पार्टीका लालबहादुर गोलेको प्यानल विजयी भएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १३:०९