२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

ओली भोलि नुवाकोट जाने, कांग्रेसका प्रभावशाली नेतासहित एक हजारजना एमाले प्रवेश गर्ने


१ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (शुक्रबार) नुवाकोट जाँदैछन । एमालेका तर्फबाट आयोजना गरिएको बृहद् चुनावीसभा एवं पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न ओली भोलि नुवाकोटको विदुर जान लागेका हुन ।

भोलि १ बजे विदुर नगरपालिकाको हावाघर भन्ने स्थानमा आयोजित सभामा ओलीले सम्बोधन गर्ने र सोही कार्यक्रममा एमाले प्रवेश गराउने कार्यक्रम तय भएको एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले जानकारी दिए ।

नेपाली कांग्रेस नुवाकोटका प्रभावशाली केही नेताहरू एक हजार भन्दा बढी कार्यकर्तासहित एमाले प्रवेश गर्दैछन भने माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरू पनि एमालेमा प्रवेश गर्दैछन । एमाले नुवाकोटले पार्टी प्रवेश गर्नेहरूको नाम भने खुलाएको छैन । नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिसमा परेका केही समेत एमाले प्रवेश गर्न लागेको स्रोतले जनाएको छ ।

डा बाबुराम भट्टराइसँगै जसपमा पुगेका केही नेताहरू समेत एमाले प्रवेशको तयारीमा रहेका छन । उनीहरू सबैलाई नेकपा एमालेका अध्यक्ष ओलीले स्वागत गर्नेछन । ओली भोलि बिहान १२ बजे हेलिकप्टरबाट विदुर जाने कार्यक्रम रहेको छ । एमालेले भने जिल्लाको १२ वटै पालिकाबाट मोटरसाइकल र्यालीसहित कार्यकर्ता जम्मा गर्ने भएको छ । पाँच हजार भन्दा बढी मोटरसाइकलको र्याली नै हुने एमाले विदुर नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रमको तयारीमा जुटेका एमाले बागमती प्रदेश कमिटी सदस्य गणेश श्रेष्ठले भोलिको कार्यक्रममा कम्तिमा ५० हजार जना उतार्ने प्रयास हुने बताए । उनले १० हजार भन्दा बढी त विदुर नगरपालिकाकै पार्टी कार्यकर्ता र शुभेच्छुकले सहभागिता जनाउनेछन । उनले विभिन्न पार्टी परित्याग गरेर १५  सय भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्ने तयारीमा रहेको पनि बताए ।

श्रेष्ठका अनुसार यो राजनीतिक पार्टीहरूले नुवाकोटमा गरेको मध्येको अहिलेसम्मकै सबैभन्दा ठूलो सभा हुनेछ । कार्यक्रमको तयारीका लागि एमाले नेता महेन्द्रबहादुर पाण्डे लगायत विदुरमा पुगिसकेका छन । आगामी संघीय निर्वाचनमा पाण्डे एमालेको तर्फबाट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा रहेका छन ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार २०:२६