१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

९५ प्रतिशत बन्याे ४२ किलोवाट अदलिखोला लघु जलविद्युत आयाेजना


३० चैत्त, जुम्ला । गुठीचौर गाउँपालिकाकामा रहेको अदली खोलामा ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणकाे ९५ प्रतिशत काम पुरा भएकाे छ । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको आज निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले अनुगमन गरेका छन् । आयोजना अनुगमनमा पालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पनि थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीका अनुसार आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। १५ वैशाखभित्रै आयोजना निर्माणसम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष भण्डारीले निर्देशन दिएका छन् । उनले भने, ‘यो आयोजना जुम्लाकै लागि ठुलो र नमुना हाे ।’ आयाेजनामा गाउँपालिकाले एक करोड एक लाखभन्दा बढी रकम विनियोजन गरेको छ। दुर्गम र विकास पुर्वाधारबाट पछाडी परेको बस्तीमा याे आयाेजना निर्माणपछि उज्यालोको अनुभुति हुने अध्यक्ष भण्डारीले बताए ।

अदलिखोला लघु जलविद्युत आयोजनाको पावर हाउस, टनेल, निर्माणस्थलको अवलाेकन समेत भएकाे छ । गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडीले यहाँ उत्पादन हुने बिजुलीले गडिगाँउ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभावान्वित हुने बताइन । उनका अनुसार एक नम्बर वडामा मात्रै तीन सय ६० घरधुरी छन् । त्यस्तै एक हजार आठ सय उपभोक्ताले बत्ती बाल्न पाउने वडा सचिव हरिश्चन्द्र गिरी बताउँछन् ।

आयोजनाका अपरेटर हिरालाल ऐडीले स्थानीय सरकारलाई एउटा तालिम उपलब्ध गराउन अनुरोध गरे । उनले जलविद्युतमा काम गर्दा मेसिनरी चिजसँग जोखिम छ। तालिम भए ढुक्कसँग काम गर्न पाइने थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १७:०४