१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

जुम्लाको मालपोतसेवा सुधारिँदै


३० चैत्त, जुम्ला । सेवा सुरु भएकाे एक सय वर्षपछि मालमोत कार्यालय जुम्लाको सेवामा सुधार देखिएकाे छ । सधैँ सुस्त इन्टनेट, जनशक्ति र उपकरण अभाव झेल्दै आएको कार्यालयले केही समयदेखि यस्ताे गुनासाे व्यहाेर्नु परेकाे छैन् । इन्टरनेटकाे गतिमा सुधार, जनशक्ति र उपकरण चुस्तदुरुस्त भएपछि सेवाग्रहीले गुनासाे गर्न छाडेका छन् । अहिले सेवामा सरलीकरणको अभ्यास समेत सुरु भएको सेवाग्राहीहरूकाे भनाइ छ ।

भूमि व्यवस्थापना तथा अभिलेख विभागका अनुसार मालपोत कार्यालय जुम्ला, नापी कार्यलय जुम्लाले लिखित रजिष्ट्रेसन पारित गर्न थालेकाे एक सय वर्ष पुगेको छ । साेही अवसरमा बुधबार सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएकाे छ । साे अवसरमा मालपोतका निमित्त कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले चालु आर्थिक वर्षको हालसम्म भएका लिखत राजीनामा लगायत कार्यालयले गर्दै आएको काम बारे जानकारी गराए ।

उनले दलित, अपांगता भएका व्यक्ति र महिलाका नामा जग्गा पास गर्दा राज्यले नै छुट दिने व्यवस्था गरेको बताए । उनले भने, ‘यस वर्ष दुई सय ६३ जना महिलाकाे नाममा जग्गा पास, ४५ जना दलित र एक अपांगता भएका एक जनाकाे नाममा पास भएकाे छ ।’ उनले मलापोतमा उठेको राजश्व ५० प्रतिशत प्रदेश र ४० प्रतिशत सम्बन्धित स्थानीय तहमा जाने गरेको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको २०७८/०७९ काे चैतसम्म एक करोड, ५१ लाख ७२ हजार नाै सय ५४ रुपैयाँको राजश्व असुल भएको छ ।

मालपोतमा दुई सय २७ मुद्दा
मालमोत कार्यालय जुम्लामा नामसारीका लागि एक सय १३ मुद्दा परेको कार्यालय प्रमुख रोकायाले बताए । जसमा ९० वटा फर्छौट भएका छन् । यस्तै मोठ कायममा ७३ वटा, लालपुर्जा प्रतिलिपिसम्बन्धी ६ वटा, घर कायम नाै वटा, दाखिला १६ वटा, अदालतको दाखिला ८ वटा, बैंकको लिलामसम्बन्धी एक, हक सफा एक वटा मुद्दा गरी दुई सय २७ वटा मुद्दा थिए ।

कार्यालयमा इन्टरनेटको समस्या समाधानको लागि नेपाल टेलिकमबाट लिजलाइन जडान गरिएको छ । हाल कार्यालयमा नायब सुब्बा तीन, खरिदार तीन, सलेपा एक, कम्प्युटर अपरेटर तीन जना र कार्यालय सहयोगी चार जना गरी जम्मा १४ जना जनशक्ति छन् ।

दलितलाई राजश्वमा २५ प्रतिशत छुट
मालपोत कार्यालयमा जग्गा रजिस्टेसन गर्ने दलित समुदायले राजश्वमा २५ प्रतिशत छुट पाएका छन् । चालु आर्थिक वर्षको हालसम्म ४५ जना दलितका नाममा जग्गा रजिस्टेसन हुँदा उनीहरूले २५ प्रतिशत राजश्वमा छुट पाएका हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १६:०६