१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस्ः पूर्वअध्यक्ष रेग्मी


 मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताएका छन् । नववर्ष–२०७९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले हामी त्यसतर्फ कति केन्द्रित भयौँ, समीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ भने ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भनेका छन, “लामो समयदेखि आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध हुने आकाङ्क्षा राखेका हामी नेपालीहरू आफ्नो सुखद् भविष्यका लागि अनवरत सङ्घर्ष गरिरहेका छौँ ।”

राजनीतिकरूपले असङ्गतिपूर्ण अवस्थामा पुगेकै कारण कार्यपालिका, न्यायपालिका र संसद्लगायत धेरै क्षेत्र लथालिङगतर्फ उन्मुख रहेको बताउँदै उनले स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिने भएकाले हाम्रा मान्छे नभई योग्य र राम्रा मान्छेलाई उम्मेदवार बनाउन राजनीतिक दललाई सुझाव दिए ।

उनले सन्देशमा भनेका छन, “बिग्रँदाे अर्थतन्त्रलाई बेलैमा सम्हाल्दै राजनीतिक दल, नेतृत्व तहका व्यक्ति र नेपाली मात्रले नयाँ वर्ष राजनीतिकरूपले स्थिर र सवल, विकास र समृद्धिका लागि सही नीति र कार्यदिशा अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवं विश्वसनीय बनाई स्वस्थ एवं सवल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल होऔँ भन्ने कामना गर्दछु ।”
–––

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १५:१२