२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

विदुरको मेयरका लागि एमालेबाट १० जनाको आकांक्षा, लालकिल्ला कायम गर्न को बलियो ?


२९ चैत, नुवाकोट । नुवाकोटको सदरमुकाम रहेको विदुर नगरपालिकाको मेयरका लागि स्थानीय सत्तारूढ नेकपा एमालेबाट १० जनाले आकांक्षा व्यक्त गरेका छन । एमालेको विदुर नगरकमिटीको मंगलबार भएको विस्तारित बैठकमा मेयरमा १० जना र उपमेयरमा १३ जनाले आकांक्षा व्यक्त गरेको नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

मेयरमा उम्मेदवार बन्छु भनेर रहर गर्नेमा दुई पटक मेयर भैसकेका एमाले बागमती प्रदेश कमिटी सदस्य ठाकुर गजुरेलदेखि २० वर्षदेखि नुवाकोटमै रहेर पत्रकारिता गरिरहेका देवचन्द्र भट्टसम्म रहेका छन । सचिव श्रेष्ठका अनुसार मेयरमा उम्मेदवार हुन रहर गर्नेमा वर्तमान मेयर सञ्जु पण्डित, पूर्व मेयर ठाकुर गजुरेल, एमाले बागमती प्रदेश कमिटीका सदस्यहरू गणेशकुमार श्रेष्ठ र नारायण घिमिरे रहेका छन ।

मेयरको उम्मेदवार हुन रहर गर्नेहरू दायाँबाट क्रमश, रामकृष्ण खड्का, वुद्धि प्रधान, अनुजकुमार श्रेष्ठ, सञ्जु पण्डित, ठाकुर गजुरेल, नारायण घिमिरे, रामहरि अधिकारी, गणेशकुमार श्रेष्ठ र शिव चित्रकार ।

त्यस्तै जिल्ला कमिटीका उपाध्यक्ष बुद्धि प्रधान, वडा नम्बर ७ को अध्यक्षमा पराजित भएर वर्तमान मेयर पण्डितको स्वकीय सचिवमा जागिर खाएका रामहरि अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष शिव चित्रकार, खेलकुद महासंघका उपमहासचिव रामकृष्ण खड्का, नगर कमिटीका सचिव श्रेष्ठ र पत्रकार भट्ट रहेका छन ।

त्यस्तै उपमेयरमा पनि १३ जनाले उम्मेदवार हुन रहर जाहेर गरेका छन । जसमा वर्तमान उपमेयर गीताकुमार दाहालदेखि शिक्षण पेशमा रहेकी पार्वती प्याकुरेलसम्म रहेका छन । उपमेयरको उम्मेदवार हुन रहर गर्ने अन्यमा सावित्री प्याकुरेल, रिता थपलिया, अम्विका पौडेल, रिता थपलिया, इन्दिरा अधिकारी, बच्चुमाया सुनारीमगर, रूपा थापा, डिल्लीराज गजुरेल, कमला अधिकारी, लक्ष्मी प्रधान, रजनी कार्की र निर्माला अधिकारी रहेका छन ।

नगरकमिटीको बैठकमा मेयर र उपमेरको उम्मेदवार हुन रहर गर्नेको सूची लामो बने पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वैशाख २ गते नुवाकोट आउने कार्यक्रमको तयारीका लागि सबै त्यता केन्द्रीय हुनेपर्ने भएकाले त्यसअघि थप छलफल नहुने एक नेताले जानकारी दिएका छन ।

उपमेयरको उम्मेदवार हुन रहरगर्नेहरू ।

२०४९ सालदेखि नेकपा एमालेले विजय प्राप्त गर्दै आएको विदुर नगरपालिका एमालेले यसपटक पनि पाँच दलीय गठबन्धनलाई पराजित गर्दै आफ्नो विजयको झण्डा फहराउने रणनीति अख्तियार गरेको छ । तर आकांक्षीहरको व्यवस्थापन भने एमालेका लागि निकै चुनौतिपूर्ण रहेको छ । कार्यकर्ता र संगठन बलियो भएर पनि कुशल नेतृत्व नपाएर अलमलिएको जस्तो भएको एमालेका लागि नुवाकोटको १२ वटै पालिकामा आन्तरिक असन्तुष्टि व्यवस्थापन चुनौतिपूर्ण रहेको छ ।

एमालेले आंकाक्षीहरूले व्यवस्थापनमा ध्यान दिन सक्दा जिल्लाका १२ मध्ये ५ पालिकामा विजयी हाँसिल गर्ने नेपाली कांग्रेस र माओवादीले नै रिपोर्ट निकालेका छन । यद्यपी एमाले नेतृत्वले भने कम्तिमा ८ पालिकामा प्रमुख नै जित्न सकिने दलिल पेश गर्दै आएको छ । विदुर नगरपालिका सदरमुकाम भएका कारण बढी महत्वका साथ हेरिएको छ ।

एमालेका केन्द्रीय उपमहासचिव विष्णु रिमाल र बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेको गृह जिल्ला पनि भएकाले नुवाकोटलाई विशेष महत्वका साथ हेरिएको छ ।  नुवाकोटको १२ वटै पालिकामा वडा सदस्यसम्म गठबन्धन गर्ने भनेर यसअघि कांग्रेस लगायतका दलहरूले सहमति गरिसकेका कारण गठबन्धनका उम्मेदवारलाई समेत पराजित गर्न सक्ने लोकप्रिय नेतृत्वको खोजीमा एमाले रहेको छ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १८:०५