१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

स्थानीय निर्वाचनमा कर्णालीका १० मध्ये पाँच जिल्लामा तालमेल गर्ने गठबन्धनकाे निर्णय


२८ चैत, सुर्खेत । सत्तारुढ गठबन्धनले कर्णाली प्रदेशका १० मध्ये हालसम्म पाँच जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । अहिलेसम्म सुर्खेत, जाजरकोट, हुम्ला, जुम्ला र दैलेखमा गठबन्धनमा रहेका दलहरूले स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति गरेका छन्को । तर, केन्द्रले स्पष्ट खाका नदिँदा दलहरु अन्याेलमै छन् ।

केन्द्रको सहमतिअनुसार आपसी समझदारी र सहकार्य गरी स्थानीयस्तरमा तालमेल हुने भएकाे छ । गठबन्धन दलमा रहेका राजनीतिक दलहरूका नेताले कर्णाली प्रदेशस्तरीय बैठक गरिसकेका छन् । तर, उनीहरूले ठाेस सहमति गर्न सकेका छैनन् ।

सुर्खेतका पाँच दलले चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् । बिहीबार बसेको पाँच दलको बैठकले गठबन्धन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति खड्गबहादुर पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी नेपालले गठबन्धन गर्ने निर्णय गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा सुर्खेतका नाैवटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर जाने निर्णय पाँच दलले गरेको माओवादी केन्द्रका सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्लले जानकारी दिए । ‘चुनावका लागि जिल्लामा गठित पाँच दलीय गठबन्धनमा १० जना रहेको संयन्त्र गठन गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘पालिकाहरूमा स्थानीय संयन्त्रको नियमित बैठक गर्ने पनि दलहरूले निर्णय भएको छ ।’

जाजरकोटमा स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलले तालमेल निर्णयय गरेका छन् । जाजरकोटमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तालमेलको निर्णय भएको छ। चार दलको बैठकपछि जारी संयुक्त वक्तव्यमा गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीनजनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने निर्णय भएको र पालिकास्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन, अभिव्यक्ति सार्वजनिक नगर्न नगराउन निर्देशन दिइएकाे छ ।

सत्ता गठबन्धन दलले हुम्लामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । हुम्लाका सात गाउँपालिका तथा ती पालिकाका ४४ वडामा गठबन्धनका दलहरुबीच तालमेल गर्ने निर्णय गरेका हुन् । कांग्रेस, माओवादी केन्द्र र एकीकत समाजवादीबीच तालमेल गरेर जाने निर्णय भएको छ । चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएको कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले बताए । ‘अन्य विषय केन्द्रले निर्देशन देला । सामान्य छलफल गरेर अहिलेलाई तालमेल गर्ने निर्णय मात्र गरेका छौं,’ उनले भने, ‘केन्द्रले स्पष्ट खाका दिएपछि अन्य बिषयमा छलफल होला । उम्मेदवारको छनाेट पनि त्यही आधारमा हुनेछ ।’

दैलेखमा चार दलले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका हुन् । कांग्रेस सभापति मणिराम रेग्मी, माओवादीका संयोजक प्रेमबहादुर कटुवाल क्षेत्री, नेकपा एसका अध्यक्ष बरुनाथ योगी र राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष लोगपाल थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका हुन् ।

निर्वाचन केन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका प्रमुखसहित सातजना सम्मिलित संयन्त्र गठन गर्ने र स्थानीय तहमा पनि संयन्त्र बनाउने सहमति भएको माओवादी केन्द्रका दैलेख जिल्ला संयोजक प्रेमबहादुर कटुवाल क्षेत्रीले जानकारी दिए । ‘अन्य कुरा संयन्त्र निर्माण गरेर अगाडि बढ्ने सहमति भएको छ । केन्द्रको खाका आएपछि अन्य काम अगाडि बढाउँछौं,’ उनले भने, ‘सबैलाई सम्मान हुने ढंगले गठबन्धन अगाडि बढ्छ ।’

गठबन्धन गर्ने विषयमा जुम्लामा कांग्रेसभित्रै विवाद

जुम्लामा गठबन्धन गर्ने विषयमा कांग्रेसभित्रै विवाद चर्किएको छ । २६ चैतमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र समाजवादी जनता पार्टीले गठबन्धन गर्ने सहमति गरेका थिए ।

कांग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन गर्ने सहमति गरे पनि पार्टीका उपसभापतिलगायतका पदाधिकारीहरूले त्यसको विरोध गरेका हुन् । कांग्रेसले स्थानीय तहको निर्वाचन आवश्यकता र अवस्थाअनुसार गठबनधन गरेर जाने निर्णय गरेपछि जिल्ला तहलाई निर्णय गर्न समस्या भएको हो ।

एक्लै चुनावमा जाने निर्णयविपरीत सभापतिले गठबन्धनसँग सहमति गरेकाले आपत्ति जनाएकाे जिल्ला उपसभापति कार्मा बुढाले बताए । ‘हाम्रा अधिकांश साथीहरूले गठबन्धन नगर्ने निर्णय गरेका छन्,’ उनले भने, ‘त्यसविपरीत सभापति जानुभयो त्यसमा हाम्रो आपत्ति छ ।’

अहिले कर्णालीका केही जिल्लामा सहमति भएको केही जिल्लामा गठबन्धन गर्ने विषयमा छलफल चलिरहेको नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए । ‘स्थानीय तहमा पाउने सिटको मोडालिटीमा छलफल भइरहेको छ,’ उनले भने, ‘अहिले पनि गठबन्धनमा रहेका दलहरू निरन्तर छलफलमा छौं ।’

कर्णालीमा गठबन्धनको विगतको निर्वाचनको अवस्थाका विषयमा छलफल भइरहे पनि स्थानीय तहमा चुनावी बाँडफाँट नभएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘गठबन्धनका आधारमा चुनावी तालमेल हुन्छ । तर, अहिले कुन स्थानीय तह कसलाई भनेर भाग गरेका छैनौ,’ उनले भनिन्, ‘हामीले अहिले स्थानीय तहमा कुन पार्टीको अवस्था कस्तो छ भनेर छलफल गरिरहेका छौं ।’

स्थानीय तहको अवस्था विषयमा अहिले जानकारी लिने काम भएको र जिल्ला जिल्लामा अहिले गठबन्धन गर्ने विषयमा छलफल चलिरहेको एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १२:३७