११ असार २०८१, मंगलवार | Tue Jun 25 2024

अपराध छोप्न कांग्रेस प्रवेशको निवेदन दिएका अध्यक्ष खड्काविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता


१७ चैत, काठमाडौँ । आफ्ना अपराध लुकाउनका लागि नेपाली कांग्रेस प्रवेश गर्न निवेदन दिएका रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहितका विरूद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अघिल्लो चुनावमा राप्रपाबाट एमाले प्रवेश गरेका खड्का यसपटक आफ्ना कर्तुत छोप्नका लागि नेपाली कांग्रेस प्रवेश गर्न भनेर दरखास्त नै हालेका थिए । कांग्रेस रामेछापका सभापतिले वडा सभापतिहरूसँग उनलाइ पार्टी प्रवेश गराउन हुन्छ कि हुँदैन ? फाइदा छ कि बेफाइदा छ भनेर प्रश्न सोधेर पठाएको पत्र यसअघि सार्वजनिक नै भएको थियो । पत्र सार्वजनिक भएको पाँच दिन पनि पूरा नहुँदै खड्कासहित २७ जनाकोविरूद्धमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियारले अध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारले विशेष अदालतमा दायर गरेको रिटमा १७ करोड ७ लाख २४ हजार ७५० बढी बिगो दाबी गरिएको छ ।

अख्तियारले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध ४ करोड २१ लाख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविुरुद्ध १ करोड १२ लाख ८२ हजार, तत्कालीन लेखा अधिकृत दुर्गाबहादुर डिङदोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार भ्रष्टाचार गरेको आरोपसहित बिगो दाबी गरेको छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्षसहितका पदाधिकारीविरुद्ध पनि १ करोड बढी भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ ।विद्युतीकरण योजनामा अनियमितता गरेको दाबी अख्तियारले गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १८:५३