११ असार २०८१, मंगलवार | Tue Jun 25 2024

टुक्रे योजना विकासको बाधक हुन्ः मन्त्री रोकाया


१७ चैत, जुम्ला । कर्णाली प्रदेश सरकारकाे भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले टुक्रे याेजनाका कारण कर्णालीको विकास हुन नसकेकाे बताएका छन् । उनले कर्णालीकाे विकास गर्ने हाे भने टुक्रे योजनामा अल्मलिनु नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ जुम्लाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानुन, याेजना, रणनीति, प्रतिबद्धता सबै भएर पनि अझै कर्णालीले मुहार फेर्न नसकेकाेमा दु:ख व्यक्त गरे । उनले भने, ‘दिगो विकासको लागी सबैले सोच्न आवश्यक छ । जुम्लासहित समग्र कर्णाली विकासको लागि पत्रकारले कलम चलाउनु पर्याे ।’

उनले कर्णालीको आर्थिक र सामाजिक विकासका लागि पर्याप्त अवसर रहेकाे पनि बताए । एक दुई लाखका टुक्रे योजनाले उपभोत्ता समिति पालिने तर विकास दिगो नहुने समस्या छ । यसको अन्त गर्न प्रदेश सरकार पनि लागि परेको बताए ।

उनले आफ्नो कार्यकालमा नागमा-गमगडी राजमार्गलाई प्रथामिकता साथ अगाडी बढाइने पनि बताए । खानेपानी, सिँचाइँ जस्ता वहुवर्षीय योजना कार्यान्वयन हुने बताए । कर्णालीका अन्य जिल्लाको तुलनामा जुम्लामा बजेट समेत कम विनियोज भएकाे दुखेसाे गरे । उनले भने, ‘अबका दिनमा पहुँचको अधारमा भन्दा आवश्यकताको आधारमा बजेटको व्यवस्था गर्नेछाै‌ँ ।’

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १६:४३