प्राधिकरणको खुद नाफा अर्ब नाघ्ने
–रमेश लम्साल
२९ साउन,काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४÷७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने दावी गरेको हो । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा रु सात अर्ब ८६ करोड थियो । अन्य वित्तीय खर्च कटौती गरेपछि खुद मुनाफा आउँछ ।
विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरीद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत्भार कटौतीको अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।
चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै रु चार अर्ब थप आम्दानी भएको छ । गत वार्षिकोत्सवमा आव २०७३÷७४को प्राधिकरणको खुद नोक्सानी रु ९७ करोड ८९ लाख हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा रु एक अर्ब ५१ करोड देखिएको थियो । प्राधिकरणको सञ्चित नोक्सानी अझै रु २८ अर्ब १२ करोड छ ।
“प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करीब रु दुई अर्ब ५० करोड हुने प्रक्षेपण गरेका थियौँ, तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौँ’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो ।
“मैले जिम्मेवारी सम्हाल्दा संस्था रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा थियो, प्रधानमन्त्री, ऊर्जामन्त्री, उर्जा सचिव, सञ्चालक समितिसहित नेपाल सरकारका विभिन्न निकाय, आम उपभोक्ता, प्राधिकरणका कर्मचारीलगायत सबैको निरन्तर सहयोगबाट गतवर्ष पनि संस्था नाफामा गएको हो, तर हामीले सोचे जति सफलता हासिल गर्न अझै सकिरहेको छैन” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार १२:१३