१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

कर्नाटकका विद्यालयमा पुनीत राजकुमारको जीवनी पढाइने


६ चैत, काठमाडौं । कर्नाटकका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अब कन्नड सुपरस्टार पुनीत राजकुमारको जीवनीलाई पढ्न पाउने भएका छन् । कर्नाटक सरकारले स्थानीय विद्यालयको पाठ्यक्रममा पुनीतको जीवनीलाई पनि समेट्ने तयारी गरेको छ ।

कैयौं संगठन र व्यक्तिले बेंगलुरु महानगरपालिका (बीबीएमपी) शिक्षा विभागलाई पत्र लेखेर सरकारसँग चार या पाँच कक्षाका विद्यार्थीको पाठ्यपुस्तकमा पुनीतको जीवनबारे एक अध्याय राख्न माग गरेका थिए । जसमाथि शिक्षामन्त्री बीसी नागेशले सरकारले यो विषयमा विचार विमर्श गरिरहेको बताएका छन् ।

सरकारले बालबालिकालाई परोपकारी गतिविधिमा प्रोत्साहन गर्न पुनीतलाई प्रमुख पात्र बनाई पाठ्यक्रममा समावेश गर्न लागेको जनाएको छ । सन् २०१९ मा उत्तरी कर्नाटकमा बाढीको प्रकोप थियो । त्यो समय अभिनेता पुनीत बीएस येरियुरप्पाको सहयोगका लागि अगाडि आएका थिए ।

नले तत्कालीन समयमा कर्नाटकको मुख्यमन्त्री सहायता कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेका थिए । यसबाहेक उनले २६ अनाथ आश्रम र १६ वृद्धाश्रमसँगै १९ गौशाला सञ्चालनमा पनि सहयोग गरेका थिए । पुनीत कैयौं कन्नडभाषी स्कुल चलाउनमा पनि सहयोग गर्थे ।

आमासँग मिलेर आश्रम चलाउँथे

पुनीत आमासँग मिलेर मैसूरमा शक्तिधाम नामको आश्रम पनि चलाउँथे । यो आश्रमका माध्यमबाट उनी हजारौं युवतीहरूलाई अध्ययनका लागि स्रोतसाधनको व्यवस्था गर्थे । यो एक च्यारिटेबल संस्था हो । यो संस्थाले बलात्कार पीडितहरूलाई सहयोगसँगै मानव तस्करीविरुद्ध अभियान, वेश्यावृत्तिविरुद्ध काम पनि गर्दै आएको छ ।

पुनीतको गत वर्षको २९ अक्टोबरमा हृदयाघातका कारण निधन भएको थियो । उनको परिवारमा पत्नी अश्विनी र दुई छोरी छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १२:५३