१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

वडा अध्यक्षको सुविधाकाे पैसा कटाैती गरेर पाँचपोखरीमा प्रवेशद्वार र सूचना केन्द्र


-देवराज सुवेदी

६ चैत, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाका वडाध्यक्षसहितका जनप्रतिनिधिले आफूले पाउने सेवासुविधाबाट गाउँपालिकाको सीमाक्षेत्रमा आकर्षक प्रवेशद्धार बनाउन सहयोग गरेका छन् । गाउँपालिकाको पर्यटन प्रवद्र्धनका निम्ति पालिकाभित्र रहेको विभिन्न कला, संस्कृति र मौलिकतालाई झल्काउने गरी प्रवेशद्वार निर्माण गरिएको हो ।

गाउँपालिकाको आठ वडाका वडाध्यक्षलाई छुट्याइएको सवारीसाधन खरिद तथा अन्य सुविधावापतको रु ४० लाख र पालिकाको थप रु १० लाख गरी रु ५० लाख लागतमा उक्त प्रवेशद्धार निर्माण भएको हो । सिन्धुपाल्चोकको पर्यटकको आर्कषण केन्द्रका रूपमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाले प्रवेशद्धारसँगै पुस्तकालयसहितको सूचना केन्द्र र प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको झल्को दिने गरी पाँच पोखरीसहितको महादेवको मूर्ति पनि स्थापना गरेको छ ।

पूर्वमन्त्री शेरबहादुर तामाङले नवनिर्मित पालिका प्रवेशद्धार, सूचना केन्द्रको शनिबार उद्घाटन तथा महादेवको मूर्ति अनावरण गरेका छन । उनले प्रवेशद्वार निर्माणका लागि राज्यबाट पाउने सेवासुविधा त्याग गर्नुभएकामा सम्पूर्ण वडाध्यक्षहरूलाई धन्यवाद व्यक्त गरे । पालिकाको प्रवेशद्वारसँगै सूचना केन्द्रको स्थापनाले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै प्रचारप्रसारमा सहज हुने  उनले विश्वास व्यक्त गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष टासी लामाले विश्वको नवौँ अग्लो स्थानमा रहेको ताल पाँचपोखरीलगायत गाउँपालिकाभित्रका विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार तथा जानकारीसहितको सूचना केन्द्र स्थापनासँगै गाउँपालिकालाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यअनुरुप योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिए । स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन नै प्रमुख भएको जनाउँदै उहाँले उत्पादनमूलक आयआर्जनका क्षेत्रमा जोडिन पाँचपोखरीवासीलाई आग्रह गरे ।

सोही अवसरमा गाउँपालिकाले तयार पारेको चारवर्षे प्रगति प्रतिवेदन पुस्तक विमोचन तथा पालिकाको सम्पूर्ण स्थानको सूचनासहितको नक्शासमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडाध्यक्ष विष्णुबहादुर खड्का तथा गाउँपालिकाका कर्मचारी कुमार बस्नेतले आफ्ना भनाइ राखेका थिए । रासस

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १०:२४