१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नेकपा र कांग्रेसका प्रभावशाली नेता नै तानिने भएपछि सुन तस्करीबारेको प्रतिवेदन नै गायब

–सन्तोष खनाल

२६ साउन, काठमाडाैँ । सुन तस्करबारे छानबिन गर्न बनेको छानबिन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले सार्वजनिक गरिएको छैन। समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन।

करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुनकाण्ड बनेको थियो तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ। समितिले ३ सयभन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो ।

केही चर्चित व्यक्तिसमेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरूको आरोप छ। टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपु¥याई पूर्णविराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ।

बारम्बार आफूहरू ठूलामाछाको नजिक पुगेको बताइरहने गृहमन्त्री थापा पनि प्रतिवेदन बुझाइएपछि मौन हुनुहुन्छ। ‘यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानबिन समितिसमक्ष केही नेताको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ।’ –स्रोतले बतायो। पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको खबर आएपछि अनुसन्धान झन् सुस्ताएको बताइन्छ।

३३ किलो सुनकाण्ड, प्रहरीभित्रै फरक मत
यसैबीच प्रहरीले उक्त सुनकाण्डको अनुसन्धान गर्न लागेको खबर सार्वजनिक गरिए पनि प्रहरी–प्रहरीबीच नै कुरा बाझिएको छ। यसको जिम्मा अपराध महाशाखा टेकुलाई दिइएको बताइएको थियो तर अनुसन्धान सतहीरूपमा गरेर मुद्दा नै बन्द गराउन खोजिएको केही जानकारहरू बताउँछन्।

उक्त महाशाखाका प्रमुख धिरजप्रताप सिंहले अनुसन्धान शुरू गरिएको स्विकार्दै समितिको प्रतिवेदन र अन्य थप विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो। तर नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले भने छानबिन समितिको प्रतिवेदन प्रहरीसमक्ष नआएको दाबी गर्नुभयो। ‘हामीसँग छानबिन समितिको प्रतिवेदन आइपुगेको छैन’ उहाँले भन्नुभयो– ‘अहिले यत्तिमात्रै भन्न सक्छु।’

यही विषयलाई समात्दै स्रोतले भन्यो– ‘प्रतिवेदन आइनपुगेको भन्ने प्रहरी प्रवक्ता र छानबिन शुरू भएको बताउने महाशाखाको कुरा सुन्दा यो सुनकाण्डलाई योजनाबद्ध रूपमा पूर्णविराम दिने तयारी भएको देखिन्छ।’ मोरङ उर्लाबारीका चूडामणि उप्रेती ‘गोरे’को समूहले सुन तस्करी गर्दै आएको भन्ने खुलेपछि यो विषयले निकै चर्चा पाएको थियो। विमानस्थलबाट सेटिङ मिलाएर ५ वर्षदेखि सुन तस्करी गरिँदै आएको भन्ने कुरा खुलेपछि सरकारले विशेष अनुसन्धान टोली गठन गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार ०९:२८