२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

हेलिकोप्टरमार्फत गर्भवती महिलाको उद्धार

११ फागुन, खाँदबारी । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्काबाट गर्भवती महिलाको उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएकी भोटखोला– १ किमाथाङ्का निवासी १७ वर्षीया गर्भवती पेम्बाल्हामु च्यावाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि च्यावालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताउनुभयो ।

गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि आज दिउँसो किमाथाङ्का स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । स्वास्थ्य सहसंयोजक तामाङका अनुसार गर्भवती च्यावाको रक्तस्राव नरोकिएपछि आज अपराह्न ४ बजे थप उपचारका लागि हेलिकोप्टरमार्फत काडमाडौँको थापाथली प्रसूति गृहमा लगिएको हो । सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म आधा दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : February 23, 2022 at 6:47 pm