२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : तिमिल्सिना

१० फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा तिमिल्सिनाले कोभिड- १९ को संक्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने उल्लेख गरे । उनले आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिडविरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरे ।

राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लागेका तथा दुई वर्ष कार्यकाल बाँकी रहेका सांसदहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले आफ्ना मतदाता र जनतालाई कोभिड-१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिकाबारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको बताए। ‘हामी यहाँ फागुन २० गते कार्यकाल पूरा भएर बिदाइ हुने र दुई वर्षपछि बिदा भएर जाने राष्ट्रिय सभा सदस्यहरू सहभागी छौं,’ उनले भने, ‘त्यसैले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड-१९ बिरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउन लागौं।’

उनले कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्रथामिकतामा स्वास्थ्य क्षेत्र परेको उल्लेख पनि गरे । ‘नेपालमा महामारीले निकै संकटको अवस्था सिर्जना गर्यो, लाखौंको संख्यामा संक्रमित भयौं र हजारौंको ज्यान गयो,’ उनले भने, ‘महामारीले ल्याएको संकटसँगै स्वास्थ्य क्षेत्रको क्षमता र तयारीमा सुधार आएको छ। यो सकरात्मक पक्ष हो।’

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संमाजीराव पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालिन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकता बारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंसा गरे। स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदारणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गरे।

अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष शशिकला दहाल, राष्ट्रिय सभा सदस्यहरू, संघीय संसदका महासचिव डा. भरतराज गौतम, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. पाण्डव, राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयाल, स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल लगायतको उपस्थिति रहेको छ।

प्रकाशित मिति : February 22, 2022 at 2:08 pm