जिल्लामै थोराकोसिन्थेसिस सेवा
९ फागुन, खोटाङ । खोटाङको दिक्तेलमा सेवा सुरू भएको फेमिली केयर अस्पतालमा निमोनिया बिग्रेर छातीमा जमेको पिप निकालिएको छ । केही समयअघि काठमाडाैंबाट दिक्तेलमा स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालमा दोर्पाचिउरीडाँडाका नारायण राईको निमोनिया बिग्रदा देब्रे छातीमा जमेको पिप निकालिएको हो ।
निमोनिया बिग्रँदै जाँदा फोक्सोमा जमेको करिब ६ सय सिसि पिप निकालिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष डा. केके राईले बताए । उपचार अभावमा बिरामीको एकतिरको फोक्सोले मात्र काम गरिरहेको अवस्थामा अस्पताल पुर्याइएको थियो । जमेको पिप विशेष तरिकाले थोराकोसिन्थेसिस गरेर निकालिएको डा. राईले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि बिरामीलाई फेमिली केयर अस्पताल लगिएको थियो । थोराकोसिन्थेसिसपछि बिरामीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।
जिल्लावासीलाई आफ्नै गाउँठाउँमा इमरजेन्सी स्वास्थ्य सेवा उपलव्ध गराउन काठमाडाैंकाे धुम्बाराहीमा रहेको अस्पताललाई दिक्तेल स्थानान्तरण गरिएको हो । खोटाङमा स्वास्थ्यमा जटिल किसिमका समस्या देखिए हेलिकोप्टर चार्टर गर्दै अन्यत्र जानुपर्ने अवस्था छ । कतिपय बिरामीको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान जाने गरेको छ । ५० शैयाको स्वीकृति पाएको अस्पतालमा हाल १५ शैयाको इमरजेन्सी वार्ड सञ्चालनमा ल्याइएको छ ।
प्रकाशित मिति : February 21, 2022 at 3:13 pm





