८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

प्रचण्डका घरबेटीका कारण एक सातादेखि काठमाडाैँको फोहोर उठेन, महानगरले निकाल्यो सूचना


७ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीले ठेक्का लिएर ८ वर्षदेखि बाटो भत्काएर अव्यवस्थित बनाइदिएपछि बालाजु बाइपास, रानीपौवा सडकखण्डका उपभोक्ता आन्दोलित बनेका छन ।

उनीहरूको आन्दोलनको कारण फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन । राजनीतिक प्रभावमा ठेक्का हत्याउने तर काम नगर्ने प्रवृतिका ठेकेदार अधिकारीले सडक अलपत्र पारेपछि स्थानीयले कालोपत्रे गर्न माग गर्दै आन्दोलन गरिरहेका छन । उनीहरूले फोहोरका गाडी उक्त सडकमा हिड्न रोक लगाएका छन । जसका कारण काठमाडौँको फोहोर उठ्न सकेको छैन ।

काठमाडौंमा एक सातादेखि फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्न थालेका छन् । १ फागुनबाट फोहार उठन छाडेको हो । काठमाडौं महानगरपालिकाले शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको आफै व्यवस्थापन गर्न भनेको छ ।

महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकाबासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुनिे र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नहुन अनुरोध गरिन्छ ।’ नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएक्कोे छ ।

उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । तर, मडखु-तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको भनाइ छ ।

उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर-ट्रकले नुवाकोटको ककनी गाउँपालिका(२ को सिसडोल फोहोर लैजाने गर्छन् । दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् ।

तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार ०९:११