८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

एमसीसी संसदमा पेश भए टाउको फुटाउने र हातखुट्टा भाँच्ने झलनाथ खनालको चेतावनी


६ फागुन, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी संसदमा पेशमात्र गरिएपनि धेरैको टाउको फुट्ने चेतावनी दिएका छन । शुक्रबार न्युजकारखानालाइ दिएको अन्तरवार्तामा उनले एमसीसी संसदमा पेशमात्र गरिएपनि धेरैको टाउको फुट्ने र हातखुट्टा भाँचिने चेतावनी दिएका हुन । उनले एमसीसी अघि बढे देशभर आगो बल्ने र मान्छेले ज्यान समेत छोड्ने बताए ।

एमसीसी संसदमा पेस भएर अघि बढ्यो भने तपाईहरू के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन, ‘यदि एमसीसी पेस भएर अघि बढ्यो भने देशभरी आगो बल्छ । आगो मात्र बल्दैन क-कसका टाउको फुट्छन्, क-कसका हातखुट्टा भाँचिन्छन् ! अहिले केही भन्न सकिँदैन । यो राष्ट्रियताको सवाल हो, मान्छेले ज्यान छोड्छ ।’

उनले एमसीसीको बिरोधमा राजनीतिक रूपमा आफूहरू सडकमा नउत्रने तर आम जनता सडकमा आउने बताए । खनालले भने, ‘सडमै उत्रने निर्णय त हामी गर्दैनौं । आमजनता सडकमा आउँछन् । सडकमा आएका जनतालाई हामीले अभिवादन गर्नैपर्ने हुन्छ ।’

खनालले एमसीसीमा कांग्रेससँग सहमति हुँदै नहुने बताए । उनले पचास वर्ष बहस गरे पनि एमसीसी संसदबाट अनुमोदन गर्ने कुरा स्वीकार गर्न नसकिने बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १७:२१