११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नुवाकोटमा फोहोर र नेता दुबै निषेध, प्रचण्डका घरबेटीका कारण ‘नो रोड नो भोट’ अभियान

१ फागुन, नुवाकोट । नुवाकोटमा ‘नो रोड नो भोट’ अभियान चलेको छ । राजनीतिक संरक्षणमा ठेक्का हत्याउने तर काम नगर्ने गरी बदनामी कमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्का पाएर पनि काम नगरेको पासाङल्हामु राजमार्गमा नेतालाई नै निषेध गरेर स्थानीय आन्दोलित भएका हुन ।

स्थानीयहरूले स्वतस्फूर्त रूपमा अभियान चलाउँदै बाटो बनाउन माग गर्दै आएका छन । नुवाकोट प्रवेशको मुख्य नाका मानिने पासाङल्हामु राजमार्गको बिगत ८ वर्षदेखि बेहाल छ । एमसीसी जस्तै खालका अनेक शर्त स्वीकार गरेर भारतीय एक्जिम बैंकको ऋण लिएर सुरू भएको आयोजनाका कारण नुवाकोटका नागरिकले धेरै पीडा व्यहोरिसकेका छन ।

ठेकेदारको गैरजिम्मेवारीपनले सीमा नाघेपछि स्थानीयले ‘नो रोड नो भोट’ अभियान नै चलाएका हुन । उनीहरूले आज फागुन १ र २ गते पासाङल्हामु राजमार्ग पूर्ण रूपमा बन्द गरेर सरकारलाइ दबाब दिने कार्यक्रम गरिरहेका छन । तर नेतै नेताको जिल्ला भनेर चिनिएको नुवाकोटका राजनीतिक दलका नेताहरूले अहिलेसम्म ठोस खालको कुनै कदम चालेका छैनन् । आइतबारबाट त नागरिकले फोहोर र नेता दुबै निषेध गर्ने घोषणा गरेका छन ।

पासाङ ल्हामु राजमार्गको बालाजु-रानीपौवा खण्डको कालोपत्रेको काम रोकेका कारण स्थानीय अान्दोलित भएका हुन । ८ वर्षदेखि अलपत्र पारेको काठमाडौँ-नुवाकोट-रसुवाको पासाङ ल्हामु राजमार्गको बालाजु-रानीपौवा खण्डको कामले अझै गति लिन पाएका छैनन् ।

सडक भत्काएर बाटो बिगिरीदिँदा समयमै अस्पताल पुग्न नपाएर दर्जनौँ बिरामीले ज्यान गुमाउन बाध्य भएका छन । सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा समेत काम भएको छैन ।

प्रकाशित मिति : February 13, 2022 at 2:50 pm