१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

कोभिडबाट मृत्यु भएका जुम्लाका २२ परिवारलाई राहत वितरण

२९ माघ, जुम्ला,। कोरोना संक्रमाणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट उनीहरूलाई रकम उपलब्ध गराइएको हो ।

पहिलो चरणको कोरोना लहरमा जुम्लाले मृत्यु ब्यहोरेको थिएन । दोस्रो लहरमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘संक्रमणको तेस्रो लहरमा जुम्लाले अहिलेसम्म मृत्यु बेहोर्नु परेको छैन ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० वैशाख ०७७ देखि कोभिड परीक्षण ल्याब सञ्चालनमा आएको छ । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो ।
यसमध्ये चार सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो । दोस्रो लहरको संक्रमण जुम्लामा वैशाख ०७८ देखि देखिएको हो । तीन हजार आठ सय २१ जनाको पीसीआर परीक्षणमध्ये एक हजार दुई सय २४ संक्रमित भएका थिए ।

तीन हजार आठ सय दुई जनाको एन्टिजेन परीक्षणमध्ये चार सय ५६ जना संक्रमित भएका थिए । एक हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांक छ । जिल्लामा ५० हजार नौ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ रहेका छन् ।

संक्रमणको तेस्रो लहरमा जुम्लामा संक्रमित हुने संख्या एक सय ७८ पुगेको छ । यसमध्ये ९३ जना निको भइसकेका छन् भने ८५ जना संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये पाँच जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार छन् भने ८० जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : February 12, 2022 at 3:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/