२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

प्रतिस्पर्धा नचाहने प्रवृत्तिले कसरी क्षमता विकास हुन्छ : अध्यक्ष तिमिल्सिना


२६ माघ, धुलिखेल । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा हाम्रा अभ्यासलाई लोकतान्त्रिक माध्यमबाट निखार ल्याउँदै सकारात्मक दिशातर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सभामुख र उपसभामुखको जिम्मेवारी र कुर्सीलाई निष्पक्ष तुल्याउन राजनीतिक दलको सदस्यबाट अलग हुने मान्यता स्थापित गरिएको बताउँदै उहाँले निष्पक्ष भएर काम गरेको महसुस गर्ने स्थिति भएमा हालका लागि पर्याप्त हुने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच आज यहाँ आयोजित अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मका अनुभवले सभा सञ्चालन गर्ने सन्दर्भमा आगामी दिनमा ऐनमा व्यवस्था गर्नसके सहज हुनेछ भन्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रियसभाको बैठक सुरुआत गर्न उपाध्यक्षलाई आग्रह गरेकामा अरु सदस्यबाट अनेकौँ प्रश्न खडा गरेर आनाकानी भयो, तर उपाध्यक्षबाट बैठक अन्त्य गर्ने अभ्यास भने स्थापित भइसकेको छ ।” आरक्षण र समानुपातिक निर्वाचन प्रणालीबाट टिकट लिन तँछाडमछाड भए पनि प्रतिस्पर्धामा आउन नचाहने प्रवृत्तिले क्षमता कसरी विकास हुन्छ भनी प्रश्न गर्दै अध्यक्ष तिमिल्सिनाले भेग, जात, समुदाय र लैङ्गिक हिसाबले अब कुनै विभेद छैन, सबै सक्षम छौँ भन्नेतर्फ प्रयास र प्रयत्न आवश्यक रहेको बताउनुभयो ।

निष्ठाको राजनीति गर्नेले पदका लागि दल छाड्ने र फेर्ने गर्नै नहुने बताउँदै उहाँले सबै स्थानीय तह र प्रदेशको असली प्रतिनिधि राष्ट्रियसभाका सदस्य भएकाले सङ्घ र प्रदेशलाई बलियो तुल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि प्रदेश उपसभामुखले आगामी दिनमा माथिल्लो तहको जिम्मेवारी प्राप्त भएमा कुशलतापूर्वक सम्पादन गर्न सक्षम रहेको दाबी गर्दै हालसम्मका अभ्यासले आत्मबल बढेको प्रतिक्रिया दिनुभयो ।

प्रदेश सभामुख र उपसभामुख राजनीतिक दलको साधारण सदस्यबाट अलग हुने भनिए पनि मुख्यमन्त्रीको निर्वाचनमा मतदानमा सहभागी भएको घटना सुनाउँदै उहाँहरुले मतदानमा सहभागी भएपछि खिन्नता महसुस भएको उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालले भन्नुभयो, “हामी उपसभामुखको जिम्मेवारी छौँ, तर सदन सञ्चालन गर्न र बोल्न पाइन्नँ । उपसभामुख हुँदा पिँजडाको पक्षीजस्तो महसुस भएको छ, पद पाइयो, स्वतन्त्रता पाइएन ।”

कानूनमा अधिकार दिए पनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै उहाँले हामीलाई सदन चलाउन दिएको भए सभामुखको पद जान्थ्यो र ? भनी प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १८:००