५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

जनपत्रकार संगठन काभ्रेले पनि बुझायो पत्रकार महासंघ काभ्रेलाई ज्ञापनपत्र


२७ माघ, काभ्रे । जनपत्रकार संगठन नेपाल काभ्रे जिल्ला समितिले सबैको साझा संगठन पत्रकार महासंघ काभ्रेलाई ७ बुदे ज्ञापनपत्र बुझाएको छ । जनपत्रकार संगठन नेपालका काभ्रे जिल्ला अध्यक्ष नकुल चौलागाईंको नेतृत्वमा गएको टोलीले शाखाका कार्यबाहक अध्यक्ष बिनोद न्यौपाने र सचिब कपिल कोइराला लाई भेटेर उनकै कार्यकक्षमा पुगि ज्ञापनपत्र बुझाएको हो ।

नेपालको पत्रकारिता क्षेत्र र सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन भन्दै जनपत्रकार संगठनले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायीत्वलाई सुनिश्चित गर्न का लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनस्र्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरेको छ ।

संगठनले सदस्यहरुको सुद्धिकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी बनाउन आग्रह गरेको छ । ‘पत्रकारिता गरिरहेका पत्रकारलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस ।’ महासंघलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मानिर्भर र स्वदेशी सहायताबाट संचालन गर्न पहल गरियोस् ।’

संगठनले समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकारहरुको बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न माग गरेको छ ।

अनलाइन संचार माध्ययम तथा भिडियो मार्फत पत्रकारिता गर्ने पत्रकारहरुको सुरक्षा ग्यारेन्टी गर्न पहलकदमी लिन संगठनले माग गरेको छ । पत्रकारहरुको स्वास्थ्य बीमा, जीवन बीमा र संचार सामाग्रीको बीमा गर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै कार्यबाहक अध्यक्ष बिनोद न्यौपाने सचिव कपिल कोइराला जनपत्रकारले उठाएका मुद्धाहरु महासंघका साझा मुद्धा भएकाले यसलाई कार्यान्वयन गर्ने प्रतिइबद्धता व्यक्त गरे । ‘श्रमजिवी पत्रकारहरुका मुद्धाहरुमा महासंघ जिम्मेवार छ । महासंघको मुख्य मुद्धा पनि यहि हो ।’ ज्ञापनपत्र बुझ्दै उनले भने, ‘सदस्यहरुको सुद्धिकरणका लागि पनि हामी कार्यन्वयनकै तहमा जाँदैछौँ । यी मागहरु महासंघकै एजेण्डा हुन् । कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १६:००