१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

लगातार दुई वर्ष देशकै उत्कृष्ट घोषित भएको त्रिशुली अस्पतालका अध्यक्ष न्याैपाने बर्खास्त


२७ माघ, नुवाकोट । बागमती प्रदेशको परमादेशी गठबन्धनवाला सरकारले लगातार दुई वर्षसम्म देशकै उत्कृष्ट घोषणा भएको नुवाकोटको त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेलाई बर्खास्त गरेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीको सहमतिमा बागमती प्रदेशका सबै जिल्ला अस्पतालका अध्यक्षहरू बर्खास्त गर्दा नुवाकोटका न्यौपाने पनि बर्खास्तगीमा परेका हुन ।

न्यौपाने नेकपा माओवादी केन्द्रका नेता हुन । यद्यपी उनले अस्पतालको अध्यक्षका रूपमा सफल भूमिका निर्वाह गरेका थिए । त्रिशुली अस्पतालको विकास, विस्तार र सेवाको गुणस्तर देखेर अतालिएका नेपाली कांग्रेसका नेताहरूले पहिलो निशाना त्रिशुली अस्पताललाई बनाएका थिए । माघ १८ गते गरिएको निर्णय भए पनि बुधबारमात्र त्रिशुली अस्पतालमा अध्यक्ष बर्खास्त गरेको निर्णय पुगेको छ ।

विगतमा कांग्रेसको सरकार हुँदा नुवाकोटका मन्त्री हुँदा त्रिशुली अस्पतालामा दरबन्दी राखेर कांग्रेस निकटका चिकित्सकले काठमाडौँमा क्लिनिक चलाउने र कांग्रेसको राजनीति गर्ने गर्थे त्रिशुली अस्पतालमा पुगेर बिरामीहरू काठमाडौँ रिफर हुनुपर्थ्यो वा क्लिनिकमा गएर सिटामोल लिएर घर फर्किनु पर्ने थियो । तर पछिल्लो चार वर्षमा त्रिशुली अस्पतालको सेवामा व्यापक फेरबदल आएको छ ।

अहिले सबै खालका उपचार सेवा त्रिशुली अस्पतालमै पाइन्छ भने हिड्ढीको जटिल प्रकारका शल्यक्रियाहरू समेत त्रिशुली अस्पतालमै हुनेगरेको छ । एपेन्डिक्स लगायतको उपचार पनि त्रिशुली अस्पतालमै सुरू भएको धेरै समय भैसकेको छ । कान्ति र पाटनको मानसिक रोग अस्पतालले समेत त्रिशुली अस्पतालमै पुगेर साप्ताहिक रूपमा सेवा दिँदै आएका छन । तत्काली एमालेको बागमती प्रदेशको सरकारले त्रिशुली अस्पतालको अध्यक्षमा नियुक्त गरेका न्यौपाने माओवादी नेता नै भए पनि उनले अस्पतालमा राजनीतिको दुषपरिणाम केही पर्न दिएनन् ।

अस्पतालमा पछिल्लो समय डेढ दर्जन भन्दा बढी चिकित्सकले सेवा दिँदै आएका छन । अस्पतालमा प्रसुती वार्डमा कार्यरत एक जना चिकित्सकको लापरवाहीले केही सुत्केरी महिलाको ज्यान गए पनि त्यसको स्थायी समाधान भने अस्पतालले खोज्न सकेको छैन । मदिराले लठ्ठ भएर प्रसुती वार्डमा प्रस्ने गरेको ती चिकित्सकका कारण सेवाग्राहीले हैरानी व्यहोरिरहेका छन तर अस्पतालले विकल्प दिन सकेको छैन ।

कांग्रेस निकट नै मानिने बागमती प्रदेशका स्वास्थ्य सचिव बद्री खड्काले यसअघि अस्पतालका अध्यक्ष न्यौपानेसँग स्पष्टिकरण माग गरेका थिए । उनले स्पष्टिकरण मागेको पत्रसहितको समाचार पुस १५ गते दैनिकीले प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएपछि स्वाथ्यराज्यमन्त्री कल्पना नेपालीले त्रिशुली अस्पतालमै पुगेर दैनिकीले गलत समाचार लेखेको हामीले अध्यक्ष न्यौपानेलाई बर्खास्त गर्दैनौ भन्ने प्रतिवद्बता व्यक्त गरेकी थिइन ।

विगतदेखि नै त्रिशुली अस्पताल कांग्रेसले राजनीतिको क्रिडास्थल बनाउँदै आएको थियो । तर पछिल्लो चार वर्षदेखि तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेयता अस्पतालमा व्यापक परिवर्तन आएको छ । लगातार दुई वर्षदेखि अस्पताल देशभरका सरकारीमा उत्कृष्ट घोषित भएको छ । तर यही बेलमा च्याखेँ दाउबाट सरकारमा पुगेको कांग्रेसले गिद्दे नजर लागाएको छ ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमालेले सुरू गराएका राम्रा र दीर्घकालीन विकासका काम स्थगित गर्ने निर्णय गरिसकेका छन । त्रिशुली अस्पतालका सन्दर्भमा पनि पाण्डेले न्यौपाने हटाउन मौखिक सहमति प्रदान गरेका थिए । गठबन्धन जोगाउने नाममा माओवादीकै मन्त्रीहरूले पनि न्यौपानेलाई हटाउन सहमति दिइएको स्रोतले जनाएको छ ।

अघिल्लो वर्ष ८८ अंक ल्याएर नेपालभरी उत्कृष्ट बनेको नुवाकोटको त्रिशुली अस्पतालले यो वर्ष त्यसमा पनि सुधार गर्दै ९४ अंक प्राप्त गरेको थियो । जिल्ला अस्पतालले नै दर्जनौंको संख्यामा आइसियु सञ्चालन गर्नु अन्य अस्पतालका लागि समेत प्रेरणाको विषय हो । तर सबैको साझा प्रयासमा अस्पतालले उत्कृष्टता प्राप्त गरेको र देशमै नमुना बनिरहेको अस्पतालमा कांग्रेसले भने कार्यकर्ता भर्ति गर्नका लागि गलत निर्णय लिएको छ ।

यो पनि पढ्नुहोस्

-सरकारीमा सर्वोत्कृष्ट त्रिशुली अस्पतालमा कांग्रेसको गिद्देनजर, अध्यक्ष बर्खास्त गर्न सोध्यो स्पष्टिकरण

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १३:५१