१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी आन्दोलित 


२७ माघ, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी संस्थागत हित र कर्मचारीको हक अधिकारका लागि विभिन्न माग राखी आन्दोलित भएका छन । गत साउन २५ मा पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वको कुनै चासो नदिएपछि कर्मचारीहरू आन्दोलित भएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी संघका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले जानकारी दिए ।

संघले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन । संघले बोर्डका सदस्यसचिव दुर्गा अर्याललाई मागपत्र बुझाएको थियो भने अल्टिमेटमको पत्र माघ २५ गते बुझाएको थियो ।

संघका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना सुरू गरेका छन । उनीहरूले मागपत्रका बारेमा सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन । संघले कर्मचारीको वृत्तिविकासको सम्बन्धमा विभिन्न माग अघि सारेको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार ०८:५०