इतिहासको चीरहरण र मधेश प्रदेशप्रतिको मोह !
-धनपति सापकोटा
भारतको सिमा भएर पूर्वी नेपालको अधिकांश तराइ क्षेत्र ओगटेको प्रदेश नम्बर–२ ले निकै लामो माथापच्चीपछि नाम र राजधानीको टुंङ्गो लगाएको छ । उक्त प्रदेशले नाम र राजधानीको टुंगो लगाएसँगै त्यो विषयसँग सम्बन्धित भएर मिश्रित प्रतिकृया आएका छन् । लामो समयदेखि टुंङ्गो नलागिरहेको विषय टुंङ्गो लागेपछि वहुलवादी समाजमा यस्ता प्रतिकृया आउनु स्वाभाविक भए यसका पछाडि लुकेका रहस्यहरुलाई सुक्ष्म ढंगबाट हेर्न जरुरी छ ।
कोशी र नारायणीको वीचको तराईको भू–भाग एक–एक जिल्लाको चौडाईमा रहेको महेन्द्र राजमार्ग (राष्ट्रिय राजमार्गले कुल लम्वाईको १÷३ भाग) ले छोएको क्षेत्रको करीब–करीब वीचमा रहेको जनकपुरलाई अस्थायी केन्द्र बनाएकोमा हाल उसैलाई राजधानी तोकिनु एक हिसावले हेर्ने हो भने सान्दर्भिक नै देखिन्छ । राजधानीले सुविधालाई प्रतिविम्वित गर्ने भएकोले यो केन्द्र वास्तवमै केन्द्र मै पर्दछ तसर्थ यसलाई उपयुक्त नै भन्न सकिन्छ ।
जहाँसम्म उक्त प्रदेशको नाम मधेश प्रदेश राखिएको छ, यो मधेश प्रदेशका सन्दर्भमा भने गहिरो गरि सोच्न बाध्य बनाएको छ । हाम्रो तराईको मौलिक नाम होइन । हाल भारतमा पर्ने विहार राज्यको पुरानो नाम मगध हो । मध्य देश पनि भनिने मगध अशोक कालीन प्रसिद्ध देश हो । छैठौं शताब्दी ई.पूर्वदेखि नै यो राज्य चर्चामा थियो । इ.पु. तेस्रो शताब्दीका राजा सम्राट अशोकले अझ चर्चामा ल्याए । भगवान गौतम बुद्धले धर्मको जग हालेको स्थान भएको र अत्याधिक विहार निर्माण भएका कारण हाल सो राज्यलाई मगध÷मध्यदेश नभनी विहार राज्य भन्ने गरिन्छ ।
घना जनसंख्याको भारतको एक राज्य, जसको इतिहास धेरै पुरानो छ । राजगृह केन्द्र भएको पौराणिक नाम पाटिलपुत्र (हाल पटना) रहेको विहार÷मगध÷मध्यदेशको नेपालसँग पनि पुरानै नाता रही आएको छ । जुन वेला मगधले भारतका १६ जनपद मध्ये एक हुने अवसर प्राप्त गर्दै थियो । त्यो भन्दा पनि ५÷६ सय वर्ष पहिलेदेखि नै मिथिला राज्य हालको नेपालको भूमिमा अवस्थित थियो । राजा जनक र उनकी छोरी सीताको पौराणिक वयान पनि त्यहाँ पाइन्छ । त्यस्तै कपिलवस्तु राज्य नेपालको पश्चिम तराईमा अवस्थित थियो । (कोलिम) हालको नवलपरासी पनि बुद्धकाल भन्दा अघिदेखि अलग्गै राज्यको रुपमा अवस्थित थियो ।
सप्तकोशीदेखि नारायणी नदीसम्मको मैदानी भागमा वैदिककालदेखि नै मिथिला राज्यका रुपमा विकसित थियो । पश्चिम उत्तर भारतमा जुन समयमा आर्य सभ्यता विकास भई (ई.पुर्व १५०० देखि ६००) रहेको अवस्थामा यहाँ विदेह राज्यको रुपमा विकास भइरहेको थियो । अष्टावक्र, गार्गी, यज्ञवल्क्य जस्ता ऋषिमुनिहरुले राजर्षि महाराज जनकको दरवारमा शास्त्रार्थ गर्दथे । राजा जनकको अलग्गै दर्शन थियो । पश्चिम उत्तर भारतका आर्यहरुले मोक्षलाई जीवन दर्शनको अन्तिमलक्ष बनाएर जस्तै जनक दर्शनले विदेहमुक्तिलाई दर्शनको मुल सार वनाएका थिए । ऋग्वेद, यर्जुवेद, सामवेद र अथर्ववेद लेखनी कालमा नै हाम्रो मिथिलामा त्यतिकै समृद्ध सम्यता विकास भइरहेको थियो ।
दक्षिण भारतका कर्नाट वंशी राजा नान्यदेवले एघारौं शताव्दीमा स्थापना गरेको सिम्रौनगढ तिरहुत (वारा) डोय राज्य, पनि मुगल आक्रान्ताहरुको शिकार नहुन्जेल विदेह राज्य कै रुपमा स्थापित थियो । जुन १४ औं शताब्दीमा ध्वस्त भयो । विदेह (डोय) राजाहरुको नेपाल मण्डलका राज परिवारसँग वैवाहिक सम्वन्ध भएका कारण मिथिलाको भाषा, धर्म, संस्कृति, नेपाल मण्डलमा धेरै पहिलेदेखि नै पर्दै आएको पाइन्छ । भक्तपुरको दरवारमा मैथिली भाषामा गीत, कविता, नाटक आदिले स्थान पाएको इतिहास पाइन्छ । भक्तपुरे मल्ल राजा स्वयं मैथिली भाषामा कविता, गीत लेख्ने गर्दथे ।
ति लामो ऐतिहासिक पृष्ठभूमि रहँदा रहँदै पनि आफ्नो मौलिकतालाई सहि मानेमा चिन्न नसकी हाल भारतमा नै लोप भैसकेको इतिहासको गर्तमा स्मृतिशेष भइसकेको मध्यदेशको अपभ्रमषित नाम मधेशलाई आफ्नो प्रदेशको नामाकरण गर्नुको पछाडि अन्य कुनै सामरिक अर्थले काम गरेको हो कि भन्ने आशंका पनि गर्न सकिन्छ । नेपाल मण्डलपछि सबै भन्दा वढी संस्कृत भाषाको ज्ञान तथा अभ्यास भएको ठाउँको रुपमा विदेह राज्य आउँछ ।
भाषा, साहित्य, कला, संस्कृति, इतिहासका दृष्टिमा अत्यन्तै समृद्ध रहेको मिथिला क्षेत्रलाई हाल मैथिल व्राम्हण (जो संस्कृत जान्दछन) अल्पसंख्यकको मात्रै हो भन्ने अल्प वुझाइले पनि सायद विदेह राज्य/मैथिल राज्य अस्विकृत भएको हो कि भन्ने पनि आशंका गर्ने ठाउँ प्रसस्त छ । इतिहासको तथ्यले प्रमाणित गरेको कुरालाई राज्यको प्रतिष्ठा बढाउन सकिने मौलिकता विद्यमान रहँदा–रहँदै पनि मधेश प्रदेशको रुपमा आयातित नामलाई नामाकरण किन गरियो ? यसको पछिको अदृश्य अभिष्ट के होला ?
भन्ने सन्दर्भमा विहङ्गावलोकन आवश्यक छ । राजा जनक, जानकी, सीता, जनकपुर, जनक दर्शनको विदेह मुक्तिबाट विदेह, डोय राज्य सिम्रौनगढ÷तराई प्रदेश आदि जस्ता सार्थक नाम रोजाईमा नपर्नुका पछाडि कुन दास मानसिकताको दाशत्वले काम गरेको होला ? मिथिलाको भाषा मैथिली हो । मगधको भाषा मागधी हो । हाल मागधी भाषा तराईमा कसले वोल्दैन । त्यसको लिपी ब्राम्ही हो । हिन्दी भाषाको जन्म हुनु भन्दा दुई हजार वर्ष पहिलेदेखि मैथिल भाषा प्रचलनमा थियो ।
गंगा नदीको उत्तरतर्फ विकास भएको बज्जी ÷लिच्छवी ÷ बैशाली राज्यमापछि विकास भएको भोजपुरी भाषाको प्रभाव पुर्वी तराईको पश्चिमी क्षेत्रमा अवस्य परेको छ । तथापि मैथिली भन्दा धेरै फरक देखिदैन । हाम्रो तराईमा विहार राज्यका विविध स्थानबाट समयकाल क्रममा वसाई सराई मार्फत नेपाल भू–भागमा प्रवेश गरेका विविध जाती अवश्य छन् । उनीहरु सँगै भोजपुरी भाषाको पनि प्रवेश भएको हो तर मैथिली भन्दा पुरानो भाषा प्राकृत मात्र हो । हाल भारतमा नै अस्थित्वमा छैन । आफ्नो भाषाले नचिलेको मधेश शब्द नै किन मधेशी विधायक कुलपुत्रहरुको रोजाईमा पर्न गयो ? यो विचारणीय कुरा छ ।
आर्य सभ्यताले प्रतिस्पर्धा गरेको र सिकेको मिथिला सभ्यातालाई किन अस्वीकार गरियो । नेपालको आफ्नो भूमिको श्री वृद्धि गर्ने विषय किन त्यज्य भयो ? इतिहास, संस्कृति किन एकाएक स्मृतिशेष हुन पुगे यो विचारणीय कुरा छ । मधेश प्रदेशको नामाकरणले, कसलाई खुसी बनाउने प्रयास भइरहेको छ ?
आफ्नो मौलिकतालाई होच्याउने उद्देश्यका साथ प्रस्ताव गरिएको नाम मधेश हो । चलन चल्तीमा पछि आएको, आफै भनेको होइन अरुले भनेको नाम हो मधेश । मधेश नाम होइन उपनाम हो तराईमा वस्ने स्वयंले पुकार्ने नभई अरुले पुकार्ने नाम हो मधेश । जस्तै माडवारी समाजको मान्छेलाई माडे भने जस्तै नाम हो मधेश । यसमा मौलिकताको थोरै पनि सुगन्ध पाइदैन । इतिहास, भूगोल, भाषा, संस्कृति केहिले पनि नचिनको शब्द हो मधेश । यी सबैसँग परिचित नाम त मिथिला, मैथिली, जनक, सिता, जानकी, विदेह राज्य, तिरहुत राजर्षिजनक कौशिकी आदि हुन सक्दछन ।
हाम्रो तराईमा पहिचानको कुरा नगर्ने मानिस प्राय कोही हुँदैन । तर, मधेश शब्दले मात्रै नेपाल भित्रका कसैको पनि पहिचान झल्काउर्दैन । ई.सा. पूर्वको भारतको मगध÷मध्यदेश हाल लोप भइसकेको छ । त्यसको पुनः उदयले को खुशी हुन्छ ? कस्को पहिचान वन्छ ? त्यस भित्र नेपाल र नेपालीको पहिचान भल्कदैन तसर्थ यस्तो नामाकरणले को खुशी भइरहेको छ ?
कतिपयलाई भ्रम पनि होला मगध÷मध्य देशबाट आई वसोवास गरेका कारण मधेश नाम रहन गएको हो तसर्थ यसले हाम्रो पहिचान दिन सक्दछ । यस्तो भ्रममा पर्नु जरुरी छैन । ऐतिहासिक पृष्ठभूमि वोकेको सिङ्गो मिथिलाको अगाडी त्यसको कुनै अर्थ छैन । मगधको भाषा मागधी हो लिपी व्राम्ही हो जुन हाल तुप्त प्राय छ । मिथिला र कपिलवस्तु कोलियको इतिहास तिन हजार वर्ष पुरानो छ भने १८९० ताका राणा कालमा वीर सम्सेरले ब्रिटिश भारतलाई रेलको पटरी निर्माण गर्न काठ वेच्ने प्रयोजनको लागि जंगल फड्नी गर्न स्थानीय थारु समुदाय परिचालन गर्दा थारुहरुले रुख काटन अस्वीकार गरेको र जंगल, जमिन र जलमा आधारित थारुहरुको जीवन पद्धति हुनाले जंगल मास्न नहुने मान्यता थारुहरुमा रहको कारण रुख काट्न अस्वीकार गरेका थिए । तसर्थ रुख काट्ने प्रयोजनको लागि सिमावर्ती क्षेत्रको भारतीय नागरिकहरुलाई खड्ग सम्सेरले वोलाएर रुख फडानी गरेको जमिन उसैलाई दिने शर्तमा मानिस आयत गरिएको थियो । त्यसरी आयात गरिएका मानिस मगधका थिएनन निकट सिमावर्ती क्षेत्रका भारतीय थिए ।
राणाकालमा नै जमिन्दारी प्रथा चलाई भूमि कर असुृल गर्न हालको वारा,पर्सा, जनकपुर, रौतहट लगायतका जिल्लाहरुमा सिमा पारीका जमिन्दार झिकाई वन फडानी गराएका थिए । यिनीहरुको नेपाल वसाई करिव सय वर्षको भई सक्यो । यिनीहरु पनि मगधका थिएनन । केहि वज्जी÷वैसाली÷लिच्छवी गण राज्यका नागरिकहरु थिए । तिनीहरुलाई वारा पर्साका थारुहरुले अहिले पनि वज्जी नै भन्ने गर्दछन ।
यसर्थ मधेश नामाकरण कुनै पनि अर्थमा सुहाएको देखिदैन । प्राचिनकाल देखि मगध मध्य देश र नेपालको व्यापारिक धार्मिक, सांस्कृतिक सम्वन्ध रहँदै आएको छ । नेपालीहरुले मगध र मध्यदेशमा वस्नेतहरुलाई मधेसी भन्ने गर्नु ठुलो कुरा भएन । कपिलवस्तु, कोलिय तथा मिथिला क्षेत्रमा मानिसहरुले पनि मगध मध्य देशवासीहरुलाई मधेशवासी नै भन्ने गर्दथे ।
तसर्थ अर्काका निम्ति पुकारिने शब्दवालीलाई हामीले प्रदेशको नामको रुपमा ग्रहण गर्न पुगेका छौ यो कस्तो विडम्वना हो । मिथिला क्षेत्रमा एक से एक विद्धान पण्डितहरु रहेको क्षेत्र हो । प्रदेशको नामाकरणको सन्दर्भमा वहाँहरुको आवाज किन दमित भयो ? पहिचानको कुरा गरेर कहिल्यै नथाक्ने तराईवासीहरुले नाम र उपनाम पनि भेद छुट्टाउन नसकेको देखिन्छ ।
प्रदेशको नामाकारण जस्तो गम्भिर विषय अन्जानमै भएको त अवश्य नै होइन होला । जानी वुझी गरेको भए त्यस भित्र लुकेको रहस्य पक्कै गतिलो छैन । भूगोल विषेशको इतिहास, कला संस्कृति, भाषा, सभ्यता लोप गराउने उपायको रुपमा प्रदेशको नामाकरण मधेश प्रदेश हुन गएको देखिन्छ । बाँकी जो मर्जी । अस्तु ।
सापकोटा काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख (एसपी) हुन् ।
प्रकाशित मिति : २४ माघ २०७८, सोमबार १३:३०