३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

स्थानीय तहको चुनाव सार्न मिल्दैनः एमाले नेता खरेल

नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ ।

आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताउनुभयो । “वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ ।”

चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उहाँको आरोप थियो । स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उहाँको धारणा छ । ‘अर्ली इलेक्सन’ वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ ।

प्रकाशित मिति : January 25, 2022 at 12:53 pm