मार्टिन, सुनिल र आशीष उच्च गोलकर्ताको प्रतिस्पर्धामा
१४ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणका खेल समाप्त भएका छन् । जारी लिगमा १४ अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । सातौ चरणमा समेत उसले आफ्नो जितलाई निरन्तरता दिए एएफसी कप-२०२२ का लागि छनोट हुनेछ ।
शीर्ष डिभिजन लिगमा उपाधि जित्न र एएफसी छनोटमा स्थान बनाउनसँगै रेलिगेसन जोनबाट बच्नसमेत क्लबबीच प्रतिस्पर्धा छ । यस्तै लिगमा सर्वाधिक गोलकर्ता बन्नसमेत खेलाडीबीच राम्रै प्रतिस्पर्धा चलेको छ ।
पछिल्ला संस्करणमा विधागततर्फ पाँच पुरस्कार दिँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटक त्यसलाई हटाउँदै बेष्ट ग्लोब्स, बेष्ट स्ट्राइकर र बेष्ट प्लेयर अवार्ड मात्रै दिँदैछ ।
चलिरहेको लिगमा गोल्डेन बुट पाउन नेपाली तथा विदेशी स्ट्राइकरबीच होडबाजी छ । जसमा संकटाका अजयी मार्टिन, मछिन्द्र फुटबल क्लबका सुनिल बल र एपीएफ फुटबल क्लबका आशीष लामा छन् । चारै खेलाडीले लिगमा चार गोल गर्दै आफूलाई गोल्डेन बुटको दाबेदारीमा राखेका छन् ।
सातदोबाटोका मार्टिनले एपीएफविरुद्ध ह्याट्रिक गरेका थिए । यस्तै आर्मीविरुद्ध एक गोल गरे । उनले लिगको सुरुआती ६ खेलमा पूरा ५४० मिनेट खेले ।
मछिन्द्रका सुनिलले न्युरोड टिम एनआरटीविरुद्ध २ गोल र हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबविरुद्ध एक-एक गोल गरे । सुनिलले ६ खेलमा ४७० मिनेट खेलेका छन् । जावलाखेलविरुद्ध बैकल्पिक खेलाडीको रूपमा २० मिनेट (इन्जुरी समयलाई छाडेर) बाहेक अन्य खेलमा पूरा समय खेलेका छन् ।
आशीष लामाले फ्रेण्ड्सविरुद्ध २ गोल गरे भने ब्रिगेड ब्वाकइज क्लब (बीबीसी) र एनआरटीविरुद्ध एक-एक गोल गरे । गत सिजन (२०६७) मा सर्वाधिक नौ गोल गरेका आशीषले ५३६ मिनेट खेलेका छन् । फ्रेन्ड्सविरुद्ध ८६ मिनेटमा मैदान छाड्दाबाहेक आशीषले पूरा समय खेलेका छन् ।
यता, सर्वाधिक गोलकर्तामा नाम खेलाउन पाँच खेलाडी प्रतिस्पर्धामा सँगै छन् । संकटाका निरज बस्नेत, उत्तम राई, पुलिसका सुमन लामा, शेर्पाका विदेशी खेलाडी मुतम्बा पिस्टोन र च्यासलका रुमेश बर्ताैलाले समान तीन गोल गरेका छन् ।
दुई गोल गर्नेमा भने नाै खेलाडी छन् । बीबीसीका दिनेश राई, मनाङका दिनेश राजवंशी, कप्तान अञ्जन बिष्ट, एपीएफका विक्की तामाङ, एनआरटीका दर्शन गुरुङ, शेर्पाका सुरेश कुमाल, संकटाका लक्ष्मण रुचाल र जावलाखेलका निकोलास फर्नान्डेज छन् । ३३ खेलाडीले एक-एक गोल गरेका छन् भने सातदोबाटोका करन रावत र जावलाखेलका सिमन्त थापाले आत्मघाती गोल गरेका छन् ।
प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १५:४८