१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

काठमाडौं महानगर टिम च्याम्पियन

५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले दोस्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।

६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै सोमबार आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टिम च्याम्पियन बन्यो ।

जैशीदेवल यूथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका दोस्रो भयो । तेस्रो स्थानको गोदावरी नगरपालिकाले ३ स्वर्ण र ३ कांस्य हात पार्‍यो ।

प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा आयोजक ‘ए’ का राहुल लिम्बू तथा महिलामा कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत पुम्सेको पुरुषमा श्रृजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । पुम्सेमै पेयर विधामा स्वर्ण जितेका नागर्जुन नगरपालिकाका आशिष् श्रेष्ठ र मोनिका मगर संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा काठमाडौंका गौरव रजक उत्कृष्ट प्रशिक्षक बने । निर्णायकको पुरुषमा कागेश्वरीका भीम तुम्बापो र महिलामा काठमाडौंकी बन्दना राई उत्कृष्ट ठहरिए । पेयरमा उत्कृष्ट भएका बाहेक सबै उत्कृष्टले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाए । पेयरका उत्कृष्टलाई जनही ५०–५० अमेरिकी डलर प्रदान गरियो ।

विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । उत्कृष्टको सबै पुरस्कार सुधोधनमान रञ्जित र रिता श्रेष्ठ रञ्जितले प्रायोजन गरेका हुन् ।

त्यस्तै २० वटै स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारका लागि नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले सहयोग गरेका हुन् ।

दुईदिने प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक क्लबका सदस्य एवं प्रचार प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जनाएका छन् ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार १८:५२