१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

च्याम्पियन्स लिगको अन्तिम १६ सार्वजनिक, रियल मड्रिड र पीएसजी भिड्ने


२७ मंसिर, काठमाडाैँ । स्पेनिस ला लिगा महारथी रियल मड्रिड र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) तथा इटालियन सिरी ए क्लब इन्टर मिलान र इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा आमने-सामने हुने भएका छन् ।

युइएफले सोमबार च्याम्पियन्स लिग अन्तिम १६ को तालिका सार्वजनिक गरेको हो । यसअघिको तालिका गल्ती भएको भन्दै युइएफएले पुनः तालिका सार्वजनिक गरेको हो । यसअघिको तालिकामा पिएसजीले म्यानचेस्टर युनाइटेडलाई प्रतिद्वन्द्विको रुपमा पाएको थियो ।

त्यस्तै रियालले बेन्फिका ,म्यानचेस्टर सिटीले भिल्लारियाल, बायर्न म्युनिखले एट्लेटिको मड्रिड, लिभरपुलले साल्जबर्ग, इन्टर मिलानले आयाक्स, युभेन्टसले स्पोर्टिङ लिस्बन र साबिक विजेता चेल्सीले लिलसँग खेल्ने तालिका थियो ।

नयाँ तालिका अनुसार सिटीले लिस्बन, बायर्नले साल्जबर्ग,युनाइटेडले एट्लेटिको, युभेन्टसले भियारियाल र आयाक्सले बेन्फिकाको सामना गर्नेछ । साबिक विजेता चेल्सी र लिलको तालिका भने यथावत् रहेको छ ।

अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १५ र १६ तथा २२ र २३ मा हुनेछ । दोस्रो लेगका खेलहरू मार्च ८ र ९ तथा १५ र १६ मा हुनेछ । क्वाटरफाइनल र सेमिफाइनलका तालिका मार्च १८ मा सार्वजनिक गरिने युइएफएले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार २१:०६