१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भिटोफमा पहिलो पटक पर्यटन व्यवसायी प्यानलसहित चुनावमा, दुई तिहाईले जित्ने पाण्डे समूहको दाबी

१४ साउन, काठमाडौँ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको निर्वाचन रोचक हुने भएको छ । व्यवसायीहरु पहिलो पटक दुईवटा प्यानल नै बनाएर चुनावमा होमिएका छन । मंगलबार हुने निर्वाचनमा भिटोफका वर्तमान महासचिव वासु पाण्डे र ध्रुव सिंखडा अध्यक्षका लागि प्रतिस्पर्धा गर्दैछन । पाण्डेलाई (तत्कालीन एमाले र माओवादी) नेकपा र स्वतन्त्र व्यवसायीको समर्थन रहेको छ भने त्यस्तै सिंखडाको पक्षमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा खोजेको पद नपाएर बाहिरएको समूह र कांग्रेस निकटका व्यवसायीको समर्थन रहेको छ ।

५७५ जना व्यवसायी सदस्य रहेको भिटोफमा तत्कालीन एमालेका १६०, तत्कालीन माओवादीका २००, कांग्रेसका ११५, नयाँ शक्तिका ४० र स्वतन्त्र ६० व्यवसायी सदस्य रहेका छन । जसमध्ये तत्कालीन एमाले र माओवादी एकै ठाउँमा उभिँदा ३६० मत एकै ठाउँमा पुग्ने र स्वतन्त्र मध्ये पनि ४० जना व्यवसायीले पाण्डे समूहलाई साथ दिने भएकाले वासु पाण्डे फराकिलो मतान्तरले अध्यक्षमा विजयी हुने निश्चित जस्तै रहेको छ । पर्यटनमा रहेका महत्वपूर्ण संस्थाहरु नाट्टा, टान, सोट्टो, नारा र हानको मुल नेतृत्व वासु पाण्डेको पक्षमा देखिएको छ ।

आर्थिक समृद्धिको एउटा महत्वपूर्ण आधार पर्यटन रहेको र गाउँ पर्यटन प्रवद्र्धनका निम्ति भिटोफको भूमिका समेत महत्वपूर्ण हुने हुँदा अनुभवी र निष्कलंकित व्यवसायीलाई नेतृत्वमा ल्याउनु पर्ने मान्यताका साथ टानका अधिकांश सदस्यहरुले पाण्डे नेतृत्वको प्यानललाई समर्थन दिएको बताए ।

अध्यक्षका प्रत्याशीद्धय वासु पाण्डे र ध्रुव सिंखडा ।

यस्तै सोट्टो नेपालका अध्यक्ष अनिल लामाले पर्यटनमार्फत ग्रामीण जनताको जीवनस्तर उकास्नु चुनौतिपूर्ण रहेका कारण पर्यटनलाई जीवन बनाउन चाहने व्यवसायी वासु पाण्डेको टिमलाई समर्थन दिएको बताए ।  यता सिंखडा आफैँ पटकेमा कार्वाहीमा परेका कारण उनको पक्षमा रहेका व्यवसायी पनि केही न केहीमा विवादित भएका कारण धेरै व्यवसायीले रुची देखाएका छैनन् । देशमा दुई तिहाईको वाम सरकारको नेतृत्व नेकपाले गरेका कारण पर्यटन क्षेत्रमा कांग्रेससहितको समूहलाई अघि आउन दिन नहुने भन्दै वामपन्थी विचारधाराका व्यवसायी भने वासुलाई दुईतिहाई मतले नै जिताउने अभियानमा लागेको टानका पूर्व अध्यक्ष चन्द्र रिजालले बताए ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्य संगठनको निर्णय, विधि र पद्धती विपरित जाने छुट कसैलाई नभएको भन्दै वासु पाण्डेको टिमलाई मतदान गर्न आग्रह गरे । उनले आजको दिनमा भिटोफलाई नेतृत्व दिन व्यवसायिक, समावेशी र क्षमतावान टिम आवश्यक रहेको र दिगो पर्यटनको आधार ग्रामीण पर्यटन भएकाले यसलाई सरकारसँगको सहकार्य र यसले प्रतिवद्धता जाहेर गरेका विषयहरुलाई सरकार मार्फत कार्यान्वयन गराउनका निम्ति यो टिम सक्षम रहेकोले सम्पूर्ण सदस्यहरुलाई अत्याधिक मतले विजयी गराउन आह्वान गरे ।

२२ वर्षको इतिहासमा पहिलोपटक प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा आएका दुबै समूहले अफूले जित्ने दाबी गरे पनि जित्ने आधार पाण्डेसमूहको देखिएको सचिवका उम्मेदवार आशुतोष प्रधानले जानकारी दिए । पाण्डे समुहबाट प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देवकोटाले उम्मेद्धारी दिएका छन् भने सदस्यमा जीवन थपलिया, चोपेन्द्र बहादुर खड्का, देवीकृष्ण रोकाय र दिपक पंगेनी उम्मेदवार रहेका छन त्यस्तै सिंखडा समूहबाट प्रथम उपाध्यक्षमा कृष्ण सुवेदी, द्धितीय उपाध्यक्षमा तारालाल धरेल र महासचिवमा जस्फा पाण्डे लगायत रहेका छन ।

भिटोफ निर्वाचन परिचालन कमिटीका संयोजक बोधराज भण्डारीले आफ्नो टिममा सबै स्नातक र स्नातकोत्तर गरेका सुपठित र व्यवसायिक अनुभवी र नेतृत्व क्षमता भएका अनुशासित उम्मेदवार रहेको भन्दै कुनै अरु प्यानल प्रतिस्पर्धा योग्य नै नरहेको दाबी गरे । उनले आफ्नो प्यानलले वामपन्थीहरुको नीति र कार्यक्रमलाई आत्मसात गरेर अघि बढ्ने स्पष्ट पार्दै तत्कालीन एमाले र माओवादी भन्नेहरु कोही पनि यस विपरित जान नसक्ने स्पष्ट पारे ।

पाण्डे समूहको प्यानल ।

पाण्डे समूहले घोषणापत्र मार्फत अाफ्नो एजेण्डा सर्वजनिक समेत गरेको छ । पाण्डे समूहको घोषणापत्रमा हरेक दुई महिनामा कुनै एउटा गाउँको पूर्ण जानकारी सहितको पर्यटन प्रवर्वद्धनात्मक कार्यक्रम गर्ने, गाउँ पर्यटनलाई राष्ट्रिय पर्यटनको मुलधारमा ल्याउन पहल गर्ने, प्रत्येक प्रदेशमा भिटोफ नेपालको शाखा विस्तार गरि प्रत्येक प्रदेशको एक गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, पर्यटन वर्ष २०२० को उद्देश्यलाई ध्यानमा राखी गाउँ पर्यटन प्रवर्द्धनको योजना बनाई कार्यक्रम अगाडि बढाउने, केन्द्रिय सरकार, प्रदेश सरकार र पर्यटन संघसंस्था, व्यवसायी र गाउँसँग समन्वय गरी घरआवास सञ्चालन गर्न व्यवस्थित गाईड लाइन बनाई स्तर बृद्धि गर्ने समेत उल्लेख गरिएको छ ।

त्यस्तै विगतमा भएको र वर्तमानमा भइरहेको भिटोफ नेपालको काम र कार्यक्रमलाई अझ बढि प्रभावकारी रुपमा अगाडि बढाउने, पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरी पर्यटन प्रवर्द्धनमा जोड दिने, पर्यटनसँग सम्बन्धित गाउँहरुमा विभिन्न किसिमका तालिमहरु सञ्चालन गरी गाउँलेहरुलाई दक्ष, आत्मनिर्भर बनाई आर्थिक उन्नतिमा जोड दिने, भिटोफ नेपाल र व्यवसायीहरु बीच सुमधुर सम्बन्ध बनाई आगामी दुई वर्षभित्र ९९९ जना सदस्य बनाउने, गाउँ पर्यटन महोत्सव २०१९ आयोजना गर्नका लागि सरकार, पर्यटन बोर्ड, पर्यटन संघसंस्थासँग समन्वय गरी अघि बढाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

गाउँ पर्यटनसँग सम्बन्धित विषयलाई समेटी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने, कल्चरल मेघा इभेन्टको आयोजना गर्न पहल गर्ने, गाउँलेको भवन निर्माण गर्नका लागि सरकार तथा व्यवसायीहरुसँग पहल गर्ने विषयलाई पाण्डे समूहको घोषणापत्रमा समेटिएको छ ।

अध्यक्षका प्रत्यासी पाण्डेले घोषणापत्र सार्वजनिक गर्दै गाउँ पर्यटन नेपाल डिजिटल रुपमा अगाडी बढाउने, गाउँ पर्यटन प्रवर्द्धन गर्नका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने, होमस्टेलाई भिटोफ नेपालसँग आवद्ध गराउने योजनासहित स्थानीय भेषभुषा, कला, संस्कृति तथा परिकारको जगेर्ना र प्रवर्द्धन गर्ने तथा नतिजामुखी भएर काम गर्ने आफूहरुको योजना रहेको जानकारी गराए ।

 

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १५:५२