१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

यु–१९ फुटबलः बदलासहित सुखद् सुरुवातको दाउमा नेपाल


२५ मंसिर, काठमाडौँ । फाइनल खेलमा बंगलोदशसँग १-० अन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय यु-१८ फुटबल टोलीले महिला उमेर समूहको साफ च्याम्पियनसिप उपाधिबाट बञ्चित हुनु परेको थियो । सेमिफाइनलमा चिरपरिचित भारतलाई निर्धारित समय १-१ अन्तरमा रोक्दै र पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनल पुगेको नेपाल उपविजेतामै सीमित भयो ।

यसपछिको संस्करण हुन सकेन । कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको छ । बंगलोदशको ढाकामा आज (शनिबार) बाट सुरू हुने प्रतियोगितामा नेपालले उही फाइनल प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्दै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भुटान र श्रीलंका भिड्दा नेपालले दोस्रो खेलमा आयोजकको सामना गर्नेछ । बीएसएसएस मुस्ताफा कमल मैदानमा हुने खेल नेपाली समयअनुसार शनिबार साँझ पौने ७ बजे सुरु हुनेछ । साविक विजेता बंगलोदशविरुद्ध खेल्दै गर्दा नेपाल बदलाको भावनामा हुनेछ । गत वर्ष फाइनलमा व्यहोरेको हारको बदलासहित नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

हाल राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका ६ खेलाडीको साथ पाएको नेपाल उच्च मनोबलका साथ प्रतियोगितामा होमिएको छ । ६ खेलाडीबाहेक अधिकांश खेलाडी गत वर्ष फाइनल खेलेका खेलाडी टोलीमा छन् ।

गत महिना भएको उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट स्तरीय खेलाडी पाएको नेपाल प्रतियोगिता हात पार्ने दाउमा छ ।‘खेलाडीहरूको मनोबल उच्च छ । हामी बंगलोदश र भारतलाई हराउँदै उपाधि जित पार्ने लक्ष्य राखेका छौं’, नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले भने ।

नेपाली टोली गोलरक्षक अन्जना राना मगरको कप्तानीमा मैदान उत्रनेछ । अन्जनासँगै फरवार्ड रश्मीकुमारी घिसिङ, रजनी थोकर, प्रिती राई, सविता रानामगर र विमला विकले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।

यस्तै डिफेण्डर रोजिना श्रेष्ठ, फरवार्ड अमिशा कार्की, सुस्मा तामाङ जस्ता खेलाडीले गत वर्ष पनि प्रतियाेगिता खेलेका थिए । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र श्रीलंका गरि ५ टोलीको सहभागिता छ । प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १०:१८