१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

एसियाली यूथ पारा गेम्सको ब्याडमिन्टनमा प्रकाशको मिश्रित प्रदर्शन

१७ मंसिर, काठमाडाैँ । नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली यूथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् । चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले एक खेल जित्दा एक खेलमा हार ब्यहोरेका हुन् ।

एसएल– ४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे । दोस्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए । अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीविरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

गेम्समा तेक्वान्दोका ३ खेलाडी पनि सहभागी छन् । ब्याडमिन्टनमा नेपालबाट सहभागी प्रकाश एक्लो हुन् । उद्घाटनको मार्च पास्टमा पारा ओलम्पियन तेक्वान्दोकी पलेसा गोवर्द्धनले नेपालको झण्डा बोकेकी थिइन् । गेम्स डिसेम्बर ६ तारिखसम्म चल्ने छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार २१:१०