रसुवामा कांग्रेसको वडा अधिवेशन सम्पन्न
३० कात्तिक, रसुवा । रसुवामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको पाँचवटा गाउँपालिकाको २७ वटै वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको कांग्रेसका रसुवाका सभापति पेम्बाछिरिङ तामाङले बताए ।
क्रियाशील सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशन आइतबारदेखि सुरु भएको थियो । जिल्लाको २६ वटा वडामा सर्वसम्मतिबाट नेतृत्व चयन भएकाे छ । उत्तरगया गाउँपालिका-५ मा भने मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । वडा अधिवेशन सम्पन्न भएसँगै अब पालिका अधिवेशन हुने सभापति तामाङले बताए ।
कांग्रेसको वडा अधिवेशन सम्पन्न गराउन केन्द्रबाट तोकिएर आएका निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनकसिंह साउद खटिएका छन् । उनीहरूले अधिवेशन सम्पन्न गराउन जिल्लाको २७ वटै वडामा शिक्षक संघका शिक्षकहरूलाई अधिकृतको रूपमा खटाएका छन् ।

३० कात्तिकमा कांग्रेस रसुवाको पालिका अधिवेशन तोकिएको थियो । तर सबै वडाको अधिवेशन सम्पन्नको डकुमेन्ट आइनपुगेको निर्वाचन अधिकृत सुमनकुमार केसीले बताए । सबै वडामा नेतृत्व चयनको डकुमेन्ट प्राप्त भएपछि पालिका अधिवेशनका लागि प्रक्रियामा जाने उनकाे भनाइ छ । ‘केही वडाको नेतृत्व चयन भएका पदाधिकारीको डकुमेन्ट आइपुगेको छ, अधिकांश वडाको आउन बाँकी छ’, उनले भने, ‘सबै वडाको डकुमेन्ट आएपछि मात्र पालिका अधिवेशन सुरु हुन्छ ।’
वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फारम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन: समावेश गराएसँगै विवाद समाधान भएको थियो । निर्वाचन अधिकृत केसीका अनुसार जिल्लामा कांग्रेसका तीन हजार नाै सय ६४ क्रियाशील सदस्य छन् ।
प्रकाशित मिति : November 16, 2021 at 11:44 am





