१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

घनश्याम राजकर्णिकारलाई यस वर्षको ‘डा. तारानाथ शर्मा नियात्रा सम्मान’

१० कात्तिक, काठमाडाैँ । नियात्रा समाजले यस वर्षको ‘डा. तारानाथ शर्मा नियात्रा सम्मान’ नियात्राकार श्री घनश्याम राजकर्णिकारलाई प्रदान गर्ने निर्णय गरेको छ । बुधबार विज्ञप्ति प्रकाशित गर्दै समाजले यस वर्षको सम्मान राजकर्णिकारलाई  प्रदान गर्ने जानकारी दिएको हो ।

विगतका वर्षमा ‘नियात्रा सम्मान’ नाम रहेको सो सम्मानमा नियात्रा विधाका शिखर व्यक्तित्व डा. तारानाथ शर्माको यस विधाप्रतिको अतुलनीय योगदानको सम्मानस्वरूप उहाँको नाम जोडेर यस वर्षदेखि “डा. तारानाथ शर्मा नियात्रा सम्मान” नामकरण गरिएको समाजले जनाएको छ ।

प्रत्येक वर्ष एक जना विशिष्ट नियात्राकारलाई प्रदान गरिँदैआएको सो सम्मान यसअघि डा. तारानाथ शर्मा, श्री देविचन्द्र श्रेष्ठ, श्री यादव खरेल र श्री सत्यमोहन जोशीलाई प्रदान गरिसकेको समाजले जनाएको छ ।

घनश्याम राजकर्णिकारको पहिलो नियात्रासङ्ग्रह ‘विदेशको यात्रा स्वदेशको सम्झना’ २०३७ सालमा प्रकाशित भएको थियो । त्यसपछि उहाँ नियात्रालेखनका माध्यमबाट नेपाली साहित्यको श्रीबृद्धिमा निरन्तर लागिरहनुभएको छ । नेपाली र अंग्रेजी भाषा तथा बालसाहित्यमा गरी नियात्रा विधामा हालसम्म उहाँका छ (६) वटा कृतिहरू प्रकाशित रहेका छन् ।

२०७२ सालको कात्तिक ११ गतेका दिन नियात्रा समाज नेपाल औपचारिक रूपमा स्थापना भएयता प्रत्येक वर्ष कात्तिक ११ गतेका दिनलाई नियात्रा दिवसका रूपमा मनाउँदै आइएको छ । कोरोनाका कारण हाल असहज स्थिति भएकाले यथाशीघ्र अनुकूल समयमा कार्यक्रम आयोजन गरी उहाँलाई सो सम्मान अर्पण गरिनेछ ।

प्रकाशित मिति : October 27, 2021 at 7:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/