२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता सम्मानित पदक विजेता सम्मानित

२६ असोज, काठमाडौं। जर्मनीमा सम्पन्न चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई नेपाल गोजुरियो कराते डो संघले मंगलबार सम्मान गरेको छ । २ अक्टोबरमा भएको प्रतियोगितामा नेपालबाट तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले चार स्वर्ण र दुई काँस्य पदक जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।

मन्डेकाजी श्रेष्ठले सिनियर एकल काता र ३० वर्षमाथि उमेर समूहको एकल कातामा गरी दुई स्वर्ण जितेका थिए । मन्डे १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् । मुकुन्द्र महर्जनले कुमुतेको ३० वर्षमाथि स्वर्ण तथा ७५ केजीमा काँस्य हात पारेका थिए ।

मुकुन्द्र १३औं सागका कांस्य विजेता हुन् । सुमन तिमल्सिनाले एकल कातातर्फ आफ्नो उमेर समूहमा स्वर्ण तथा सिनियरमा कांस्य प्राप्त गरेका थिए ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, नेपाल गोजुरियो कराते डो संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले प्रशंसापत्रसहित सम्मान गरेका हुन् ।

सोही अवसरमा नेपाली टोलीका अफिसियल स्वच्छम गुरुङ पनि प्रशंसापत्रबाट सम्मानित भए । पदक विजेता तीनै खेलाडीलाई प्रोत्साहन स्वरुप ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : October 12, 2021 at 5:11 pm