१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

६ वटा बैंकले घोषणा गर्याे लाभांश, कुन बैंकको कति ?

१३ असाेज, काठमाडौँ । गत आर्थिक वर्षको मुनाफाबाट वाणिज्य बैङ्कहरूले लाभांश वितरण गर्न शुरु गरेका छन् । कोरोना महामारीमा पनि राम्रै आम्दानी गरेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । हालसम्म ६ बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक, निफ्रा बैंक, सिटिजन्स बैंक र कामना सेवका विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयधनीहरुलाई लाभांश दिने घोषणा गरिसकेका छन् । जसमा सबैभन्दा धेरै लाभांश कामना सेवका विकास बैंकले दिने भएको छ । यता निफ्रा बैंकले नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

१. माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैंक लिमिटेडको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ रुपैयाँ बराबरको लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

जसमा बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ ।

२. सानिमा बैंक लिमिटेड

सानिमा बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद (कर प्रयोजन) गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रुपैयाँ रहेको छ ।

३. कुमारी बैंक लिमिटेड

कुमारी बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँको ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद (कर प्रयोजन) लाभांश गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

४. नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा बैंक)

नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको असोज ४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७७.७८ को नाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

५. सिटिजन्स बैंक

सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

६. कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ रुपैयाँको १८.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरी कूल १९.४७ प्रतिशत लाभांश तिरण गर्ने निर्णय गरेको हो ।

उक्त सबै बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन् । भने निफ्रा बैंकको लाभांश अर्थ मन्त्रालयले समेत स्वीकृति गर्नुपर्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १२:२२